मुग्लिन, भदौ २६-
मनकामना केबलकार शनिबारदेखि सञ्चालनमा आएको छ । मर्मतको काम सात दिन अगाडी नै सक्किएपछि शनिबारदेखी केबलकार नियमित संचालनमा आएको हो ।
६ साताको लागि भनेर बन्द गरिएको केबलकारको काम १ साता बाँकी हुदैमा मर्मतको काम सकेपछि सञ्चालनमा ल्याईएको सञ्चालक राजेशबावु श्रेष्ठले बताए ।
‘हामीले सूचना नै जारी गरेर ६ साताको लागि बन्द गरेका थियौ’ सञ्चालक श्रेष्ठले भने ‘मर्मतको काम चाडै नै सम्पन्न भएकोले सञ्चालनमा ल्याइएको हो ।’
केबलकार एनालग प्रविधिमा सञ्चालनमा रहेको र डिजिटल प्रणालीमा लान दोस्रो चरणको मर्मतको लागि बन्द गरिएको नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए ।
उनले भने ‘अष्ट्रेलियाबाट आएका प्राविधिकहरुले ६ साताको काम ५ सातामा नै काम सके । ‘भक्तजनको चाहना पनि चाढो मर्मत गरेर सञ्चालनमा ल्यावस भन्ने भएकाले सञ्चालन गरिएको हो ।’
सञ्चालनको २ दशक पार गरेको केबुलकारले मुख्य उत्पादक कम्पनीले विश्व बजारमा एनालग प्रविधि हटाउदै डिजिटल प्रविधि ल्याएकोले सोही अनुसार मनकामना केबुलकारलाई पनि परिवर्तन गरिएको सञ्चालक श्रेष्ठले बताए ।
नियमित सेडुल अनुसार असोज १ गते मात्र केबलकार सञ्चालनमा आउने थियो । केबलकार सञ्चालन भए लगत्तै भक्तजनको लाम लागेको छ ।








