चितवन, भदौ २२-
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु चितवनले भरतपुर महानगरका ३ वटा विद्यालयमा तालाबन्दी गरेको छ ।
आज बिहीबार आदिकवि भानु मावि नारायणगढ, नारायणी मावि भरतपुर र चितवन मावि भरतपुरमा अनेरास्ववियुले ताला लगाएको हो ।
‘प्रअ नहुँदा मूल माइन्युटमा निर्णय गर्न सकिएन, विद्यालयको शैक्षिक अवस्था कमजोर बनाएकोले अरु व्यक्तिलाई प्रअ तोक्न महानगरमा लेखी पठाएको छ’, महानगरका प्रतिनिधि शिव ढुङ्गानाले बैठकका निर्णयबारे भने ।
भरतपुर महानगर शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलले अध्यक्ष र प्रअबीचको इगो बढ्दै जाँदा समस्या भएको बताए । अघिल्लो वर्षदेखिकै द्वन्द्व थियो जुन निरन्तर रह्यो’, उनले भने, ‘सुरूमा पेसागत आन्दोलन थियो, त्यसपछि राजनीतीकरण भयो र अहिले विद्यार्थी पनि विरोधमा उत्रिएको सुनेको छु ।’
समस्या समाधानका लागि छानबिन समिति पनि बनाएको तर समाधान हुन नसकेको पौडेलले बताए ।
अध्यक्षले चाहँदा प्रअले बैठक नराख्ने र प्रअले चाहँदा अध्यक्षले नराख्ने समस्या भएकाले थप जटिलता देखिएको उनको भनाइ छ । भरतपुर महानगर वडा नं–१ का वडा सदस्य मनोज घिमिरेले समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए ।
नौ जनाको कमिटीमा छ जना बसेर जोकोही पठाए पनि हुन्छ भनेर लेखी पठाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुँवरले बताए । प्रअलाई बैठकबारे जानकारी गराएको तर अनुपस्थित भएको उनले आरोप लगाए । समितिले पाँचवटा भिन्न आरोप लगाएको अध्यक्ष कुँवरले बताए । व्यक्तिगत दुश्मनी, आग्रह तथा पूर्वाग्रह नभएको उनले बताए ।
‘आफू बिरामी भएको कारण बिदा लिएको अवस्थामा विद्यालय व्यवस्थापन समितिको अध्यक्षले एकलौटी बैठक राखेर विद्यालयमा भइरहेको प्रअबाहेकका शिक्षकलाई प्रअ बनाउन महानगरलाई निर्देशन दिन लेखी पठाउने निर्णय गरेको थाहा पाएँ, त्यो सरासर अन्याय भएको छ’, आदिकवि भानु माविका प्रअ विष्णुप्रसाद सापकोटाले भने । आफू सदस्यसचिव भए पनि बैठक एकलौटी राखेर अध्यक्षले राजनीतिक प्रभाव देखाउन खोजेको उनले आरोप लगाए ।

अनेरास्ववियु चितवनका सह–संयोजक हरि आचार्यले लेखा र प्रअको कार्यकक्षमा तालाबन्दी गरिएको बताए । प्रअ बिदामा बस्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्षले राजनीतिक प्रतिशोध देखाएको हुनाले तालाबन्दी गरिएको आचार्यले बताए ।
तीनवटै विद्यालयमा आआफ्नै बेथिति र अनियमितता रहेको उनले बताए ।
नारायणी माविका प्रअ पार्टीको केन्द्रीय सदस्य भएको, चितवन माविले भाडामा लगाएको जग्गाको विषयमा आर्थिक स्पष्टता नभएको अनेरास्ववियुको आरोप छ ।








