– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, भदौ १४ –
चितवनमा रहेको केन्द्रीय स्तरको सरकारी अस्पताल भरतपुर अस्पतालमा विभिन्न वेथिति र समस्याहरु रहेका छन् ।
ती समस्याहरुलाई समाधान गर्न विभिन्न माग राख्दै अनेरास्ववियु र युवासंघ चितवनले अस्पताल प्रशासनलाई ज्ञापन पत्र बुझाएका छन् ।
आज दिउँसो नेकपा एमाले निकट रहेका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अेरास्ववियु) चितवन र राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी चितवनले संयुक्तरुपमा एउटै माग राखेर छुट्टाछुट्टै ज्ञापन पत्र बुझाएका हुन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट (मेसु) प्राडा कृष्णप्रसाद पौडेल र अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीलाई अनेरास्ववियु र युवासंघले ज्ञापन पत्र बुझाएको हो ।
माग पूरा गर्न अनेरास्ववियु र युवासंघले अस्पताल प्रशासनलाई १ हप्ताको समय दिएका छन् । एक हप्ताभित्र माग पूरा नभएमा त्यसपछि उत्पन्न हुने परस्थितिको जिम्मा स्वयं मे.सु. र अस्पतालका अध्यक्ष रहने ज्ञापन पत्रमा जनाइएको छ ।
छुट्टाछुट्टै ज्ञापन पत्र भए पनि माग र बुँदाहरु एउटै रहेका छन् । सरकारी नीति नियमलाई उल्लंघंन गर्दै ल्याब र फार्मेसी जस्तो संवेदनशिल विभागमा मेसु र अध्यक्षको मिलेमतोमा आफू निकटका कर्मचारी नियुक्ति गरिएको भन्दै ज्ञापनपत्रमा ध्यानकर्षण गराइएको छ ।
भरतपुर अस्पतालको फार्मेसीमा पर्याप्त औषधी व्यवस्था गरी बाहिर गएर औषधी किन्नुपर्ने बाध्यताको अन्त्य गर्न माग गरिएको छ ।
अस्पताल भित्रको फार्मेसीमा कार्यरत कर्मचारीहरुबाट महंगो खालका औषधीहरु आफ्ना आफन्तहरुलाई बाँड्ने गरेको तर जनतालाई औषधी नभएको भनि अस्पताल बाहिर किन्न जान भनिएको हुँदा तिनीहरुको पहिचान गरी कारबाही गर्न माग गरिएको छ ।
बिरामीहरुलाई निःशुल्क खानाको व्यवस्था गरिएको भए पनि त्यो कम गुणस्तर भएको, सबै बिरामीलाई निःशुल्क खाना पाइन्छ भन्ने सूचना पुग्न नसकेको र बिरामीले खाना नखाए पनि भर्ना भएकै आधारमा अस्पतालले क्यान्टिनलाई पैसा तिरेको र यो सेटिङ्मा भएकाले यस्तो काम बन्द गर्न र बिरामीले खाना खाएमात्र पैसा तिर्ने व्यवस्था गर्न र सबै बिरामी तथा कुरुवा सामू सूचना पुग्ने प्रबन्ध मिलाउन माग गरिएको छ ।
मदन भण्डारी ट्रमा सेन्टरको नाम परिर्वतन गरी भरतपुर ट्रमा सेन्टर राखेर सो ट्रमा सेन्टरमा रहेका विविध उपकरणहरु हिनामिना गरिएकाले सो उपकरणहरुको अवस्था सार्वजनिक गरी मदन भण्डारी ट्रमा सेन्टरकै नाममा सञ्चालन हुनुपर्ने माग राखिएको छ ।
अस्पतालभित्रको पार्किङ्ग सेवा सेवाग्राहीका लागि निःशुल्क हुनु पर्ने, अस्पतालको अध्यक्षले लिंदै आएका अवैध विदाहरुलाई खारेज गर्नुपर्ने एवम् अस्पतालको कार्यकारी पदमा रहेका डाक्टर तथा कर्मचारीहरु नियम विपरित नीजि अस्पतालमा पनि गएर कार्य गरेको हँुदा त्यस्ता कार्यहरु रोकी कारबाही गर्न माग गरिएको छ ।
यस्तै रात्रीकालीन अनुगमनको नाममा खटाइएका कर्मचारीहरुको अनुगमन कार्य फितलो रहेकाले यसलाई प्रभावकारी बनाउन माग गरिएको छ ।
ठेकदारी प्रक्रियाबाट नियुक्ति गरेका कर्मचारीहरुको समायावधि सकिएपछि आफू निकटका कर्मचारीहरुलाई अस्पतालको स्रोतबाट तलब दिने गरी राखिएको हुँदा उक्त कर्मचारीहरुलाई तुरुन्त बर्खास्त गर्न माग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै अस्पतालका मेसु प्राडा कृष्णप्रसाद पौडेलले अधिकांश मागहरु सही भएकाले यसलाई पूरा गर्न आफू लागि पर्ने बताए । उनले मदन भण्डारी ट्रमा सेन्टरको नाम मेटिएको हुन सक्ने बताउँदै परिवर्तन नगरिएको बताए । अस्पतालमा सबै कर्मचारीले आफ्नो इमान्दारितापूर्वक काम नगर्दा विभिन्न समस्या उत्पन्न भएको हुन सक्ने बताउँदै उनले यसतर्फ अस्पताल प्रशासन सजग हुने बताए । भरतपुर अस्पतालमा काम गर्ने समयमा डाक्टरहरु बाहिर काम गरेको पाइए कारबाही गर्ने गरिएको उनले बताए ।
हेुर्नुहोस्, अनेरास्ववियुको ज्ञापनपत्र :
युवासंघको ज्ञापनपत्र :