चितवन, भदौ ४-
पाँच दलीय गठवन्धनको लुटेर खाने प्रवृत्ति देखिएको नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले आरोप लगाएका छन् ।
चितवनको भरतपुरमा आज (शनिबार) प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रायमाझीले अहिले अराजनीतिक, असैद्धान्तिक खालको गठबन्धन बनिरहेको भन्दै जसरी भएपनि गठबन्धन बचाउने, लुटेर खाने प्रवृत्ति देखिएको आरोप लगाएका हुन् ।
उनले मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पाँच दलीय गठवन्धनले जिते देश पछि धकेलिने बताए ।
‘एमाले बलियो छ भनेर नै उनीहरु गठवन्धनमा टुक्रेटाक्रे दलहरु जोडजाड गर्दैछन्’ उनले भने, ‘स्थानीय तहमा भएका कमी कमजोरीलाई सच्याउँदै एमाले चुनावमा बहुमत ल्याउने गरी जान्छ ।’ उनले भने ।
कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य देवी ज्ञावली, जिल्ला अध्यक्ष राम प्रसाद न्यौपाने, भरतपुर महानगर कमिटी अध्यक्ष शंकर थपलिया, माडी नगर कमिटी सचिव श्रीप्रसाद दवाडी, पार्टी जिल्ला कार्यालय सचिव श्याम विष्ट, प्रेस चौतारीका केन्द्रीय सदस्य शालिग्राम नेपाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम प्रेस चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितको अध्यक्षतामा भएको थियो ।