ललितपुर, साउन २५-
ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले १० हजार भत्ता पाउने भएका छन् ।
ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने भएको हो ।
उमेर ढल्केका वृद्धवृद्धाको अवस्थालाई मध्यनजर गरी प्रत्येक बडादशैँ ताका वर्षको एकपटक रु १० हजार दिने निर्णय गरिसकेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए ।
महानगरपालिकाले गत वर्षसम्म उक्त उमेर समूहका नागरिकलाई पाँच हजार दिने गरेकामा यस वर्ष पाँच हजार थप गरी १० हजार दिने भएको महर्जनले जानकारी दिए । महानगरपालिकामा लगभग सात हजार ज्येष्ठ नागरिक रहेका बताइएको छ ।
यसैगरी आफूहरूले ‘ज्येष्ठ नागरिकसँग महानगरपालिका’ कार्यक्रमअन्तर्गत कार्यविधि बनाएर उक्त किसिमका व्यक्ति बिरामी पर्दा उहाँहरूको सेवा र रेखदेखमा खटिने मानिस अभाव भएको जानकारी पाएमा मेडिकल समूह गठन गरी घर–घरमा उपचारका लागि पठाउने विषयतर्फ पनि ध्यान दिने महर्जनले बताए ।
महानगरमा ९० प्रतिशत घरमा नम्बरप्लेट जडानको काम सम्पन्न भइसकेको महर्जनको भनाइ छ ।