चितवन, साउन २४ –
लोकतान्त्रिक विद्यार्थी संघ चितवनले निजी विद्यालयमा शुल्क वृद्धि प्रस्तावको विरोध गरेको छ ।
लोकतान्त्रिक विद्यार्थी संघ जिल्ला समिति चितवनका इन्चार्ज राम प्रसाद ढकाल र अध्यक्ष प्रशन्न न्यौपानेले आज एक विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन् ।
प्याब्सन चितवनले २०७९ असार २७ गतेका दिन विज्ञप्ति जारी गरी बोर्डिङ स्कुलमा ४० प्रतिशत मूल्य बढाउन प्रस्ताव गरेको थियो । लोकतान्त्रिक विद्यार्थी संघले मूल्य वृद्धिको उक्त प्रस्तावप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै शुल्क वृद्धि ४८ घण्टा भित्र खारेज गर्न माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘देश विकराल बन्दै गएको अवस्थामा अरु क्षेत्रसँगै शिक्षा क्षेत्र पनि प्रभावित भएको कारण सम्पूर्ण चितवन जिल्लाभरका शैक्षिक संस्थाका विद्यार्थीहरुमा पर्न गएको असरहरुलाई मध्यनजर गर्दै माग राखेका छौं ।’
मागप्रति चितवन प्याब्सन र सम्बन्धित सरोकारवाला सम्वोधन नगरी अगाडि बढ्न खोजेमा यसबाट सिर्जना हुनजाने जस्तोसुकै सामाजिक, आर्थिक, राजनैतिक, भौतिक सम्पूर्ण क्षतिको जिम्मेवारी स्वयम् प्याब्सन र सम्बन्धित सरोकारवालाहरुलाई नै रहने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्याब्सन चितवनले गरेको शुल्कवृद्धिको प्रतावको अधिकांश विद्यार्थी संगठनहरुले विरोध जनाइरहेका छन् । तर प्याब्सन र सम्बन्धित निकाय अटेर गरेर बसिरहेका छन् ।