चितवन, साउन २४ –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले वीरेन्द्र बहुमुखी क्याम्पसमा २३ बुँदे माग राख्दै २४ घण्टे अल्टिमेटम दिएको छ ।
आज अनेरास्वयिु क्याम्पस कमिटीले क्याम्पस प्रमुख दयाराम पौडेललाई अल्टिमेटम पत्र दिएको हो । अनेरास्ववियु वीरेन्द्र क्याम्पस कमिटीका अध्यक्ष सुदिप पौडेलले क्याम्पस प्रमुखलाई पत्र बुझाएको बताए । क्याम्पस प्रमुखलाई पत्र बुझाएपछि विभिन्न सूचनापाटीहरुमा पनि उक्त पत्र टाँसिएको छ ।
अध्यक्ष पौडेलद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘शैक्षिक विकिृतिको शुद्धिकरण एवम् शैक्षिक गुणस्तरको सुदृढिकरण भन्ने नाराका साथ वीरेन्द्र बहुमुखी क्याम्पसमा देखिएका र कार्यान्वयन गर्नुपर्ने समस्याहरुलाई मागको रुपमा प्रस्तुत गरिएको छ । हाम्रा मागहरुलाई २४ घण्टाभित्र कार्यान्वयन तथा आवश्यक मागहरुलाई उचित सम्वोधन नभए विद्यार्थीहरुको हकहित र शैक्षिक परिवर्तनको पक्षमा हाम्रो संगठन आन्दोलनको आँधिवेरी सृजना गर्न बाध्य हुनेछ । जसबाट पर्न जाने क्षतिको स्वयंम क्याम्पस प्रशासन जवाफदेहि हुनेछ ।’
प्रथम वर्षमा दिनुपर्ने छात्रवृत्ति दित्तीय वर्षसम्म पनि नदिइएकोले तत्काल छात्रवृत्ति आवेदन खुलाई वितरण गरिनुपर्ने, शाखा/विभागमा अभाव रहेका कर्मचारीको तत्काल पदपूर्तिको व्यवस्थापन गर्न विज्ञापन गर्नुपर्ने, एक शैक्षिक सत्रमा कम्तिममा दुईपटक आन्तरिक मूल्याङ्कन परीक्षाको व्यवस्था गर्नुपर्ने, सबै संकायमा विद्यालय पोशाकको व्यवस्था गरिएको तर कार्यान्वयन नभएकाले कार्यान्वयन गरिनुपन, कार्यसम्पादन मूल्याङ्कनको व्यवस्थासहित शिक्षक कर्मचारीहरुलाई पुरस्कारको व्यवस्था गर्नुपर्ने, छात्राहरुलाई निःशुल्क स्यानिटरी प्याडको व्यवस्था तत्काल गर्नुपर्ने र पुस्तकालय र प्रशासनिक कार्य बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन हुने व्यवस्था गर्नुपर्ने लगायतका २३ वटा माग अनेरास्ववियुले राखेको छ ।
हाल वीरेन्द्र क्याम्पसको पुस्तकालयमा विगत तीन दिनदेखि तालाबन्दी छ । बिबिएस चौंथोवर्षमा अध्ययनरत विद्यार्थीहरुले पुस्तकालय बिहान पनि खोल्नुपर्ने माग राख्दै तालाबन्दी गरेका हुन् । उनीहरुको तालाबन्दीमा बिहान पढ्ने सम्पूर्ण विद्यार्थी र कक्षाहरुले स्वस्फूर्तरुपमा समर्थन जनाउँदै छुट्टाछुट्टै विज्ञप्ति निकालेका छन् । नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले पनि पुस्तकालय बिहानबाट सञ्चालन गर्ने व्यवस्था गरी तालाबन्दी खुलाउने वातावरण बनाउन आजै प्रशासनलाई आग्रह गर्दै विज्ञप्ति बुझाएको छ ।
विद्यार्थीहरु स्वस्फूर्तरुपमा आवाज उठाउन थालेपछि त्यसलाई विद्यार्थी संगठनले पनि साथ दिन सुरु गरेका छन् ।
अनेरास्ववियुले २३ बुँदे माग राख्दै २४ घण्टे अल्टिमेटम नै दिँदै बुझाएको अल्टिमेटम पत्र
हेर्नुहोस्,







