चितवन, असार २३ –
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भरतपुर महानगर कमिटीले विद्यार्थीहरुलाई सवारी भाडामा सहुलियत दिन माग गरेको छ ।
कमिटीले आज जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापन पत्र बुझाउँदै यसअघि नै व्यवस्था रहेकोे भाडामा सहुलियतको कुरालाई कार्यान्वयन गराउन माग गरेको हो ।
विद्यार्थी, ज्येष्ठ नागरिक, शारीरिक अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई निश्चित प्रतिशत सहुलियतको व्यवस्था रहे पनि चितवनसहित विभिन्न स्थानमा सो कुरा कार्यान्वयन नभएको अनेरास्ववियुले जनाएको छ ।
ज्ञापन पत्रमा भनिएको छ ‘सरकारले यातायातको भाडामा विद्यार्थीलाई ४५ प्रतिशत, ६० वर्ष पुगेका ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई आरक्षणसहित ५० प्रतिशत सहुलियतको व्यवस्था गरे बमोजिम सोही अनुसार कडाइपूर्वक कार्यान्वयन गराउन र समयसमयमा सो को अनुगमन गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ।’
मागहरुलाई ७ दिनभित्र कार्यान्वयन गराउन अपिल गर्दै अनेरास्ववियुले माग पूरा नभए कडा संघर्षका कार्यक्रम चाल्न बाध्य हुने चेतावनी दिएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :
– यसअघि पूरानो विज्ञप्तिबाट समाचार बनेकाले सच्याएर नयाँ विज्ञप्तिसहित पुनः प्रकाशन गरिएको हो । भुलप्रति चितवन आज मिडिया हाउस प्रालि क्षमा चाहन्छ ।