चितवन, साउन १४ –
नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा दोषी रहेको बताएका छन् ।
आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा नेता भट्टराईले शर्मालाई जबर्जस्ती निर्दोष बनाउन जबर्जस्ती लादेर छानविन समितिले प्रतिवेदन ल्याएको आरोप लगाए ।
तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गरेर करको दायरा हेरफेर गरेको विषयमा छानविन समिति बनाइएको थियो ।
आज चितवनमा योगेश भट्टराईले भने ‘छानविन जति गहिराइसम्म पुग्नुपर्ने हो, त्यहाँसम्म पुगेन । ११ जनाको छानविन समितिमा बहुमत सत्ताधारीकै थियो, ४ जनामात्र एमालेका मानिस थिए । चार जनाले छानविन प्रक्रिया मिल्ने भनेर असहमति जनाउँदा जनाउँदै संसदको टाउको गनेर जबर्जस्ती प्रतिवेदन बनाइएको छ ।’
यो छानविन समिति नभई सेटिङको साक्षी समिति भएको उनको भनाइ छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मको सेटिङमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई चोख्याउने काम गरेको उनले बताए ।
‘छानविनको क्रममा कल डिटेल माग्यौँ, समितिमा बसेका सत्ताधारीका मानिसले मानेनन्, अर्थमन्त्रालयको गेटमा बस्नेदेखि सबैसँग बयान लिन भन्यौँ, त्यो पनि मानेनन्, अनि सिसिटिभीलाई रिकभर कति गर्न सकिन्छ गरौँ भन्यौँ त्यो पनि भएन’ उनले भने ।
यस्तै भट्टराईल शेरबहादुर देउवालाई ड्राइभिङ सिटमा राखेर नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कस्तो समाजवाद खोजेका हुन् ? भन्ने प्रश्न गरेका छन् ।
नेता भट्टराईले कांग्रेसलाई बोकेर हिँड्नेहरुले यो देशमा समाजवाद ल्याउन नसक्ने दावी गरे । नेता भट्टराईले भने, ‘यो सरकारले महँगी बढाएको छ, भ्रष्टचार चरम छ । ससुशासन छैन, परराष्ट्र नीति भद्रगोल छ ।’
उनले निर्वाचन समयमै गर्न सरकारलाई दबाब दिएको बताए । उनले भने, ‘मंसिर ४ गते नै संघीय संसदको चुनाव हुनुपर्छ भन्ने अडानमा एमाले छ, तर यो सरकार फागुनसम्म चुनाव धकलेर सत्ता लम्व्याउन खोजिरहेको छ ।’