चितवन, साउन १२-
चितवनमा पहिलो पटक ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको छ ।
भरतपुर महानगरपालिका ६ देवनगरस्थित पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्रमा रहेको बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको हो ।
भरतपुर १२ का निवर्तमान वडाध्यक्ष नरेन्द्र कन्दङ्वाको उक्त फार्ममा बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको हो ।
बङ्गुरमा अफ्रिकन स्वाइन फिभर परीक्षणका लागि पशु सेवा विभागमा पठाईएको थियो । विभागबाट रिपोर्ट पोजेटिभ आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र चितवनका प्रमुख डा. सुशील केसीले बताउनुभयो ।
फार्ममा रहेका करिब ८०० मध्ये ५०० वटा बङ्गुर मरेका छन् ।
देशभरका सवारी साधन चितवन हुँदै जाने भएकोले जोखिम बढेको पशु सेवा विभागले जनाएको छ ।
अफ्रिकन स्वाइन फिभर तीन चार महिना अघि काठमाडौंमा देखिएको थियो ।
‘अफ्रिकन स्वाइन फिभर’ को कुनै उपचार र खोप नहुने भएकालेपनि संक्रमण देखिए बंगर नष्ट हुने र किसानले आर्थिक क्षति ब्यहोर्नु पर्ने अवस्था रहेको बताइएको छ ।