चितवन, साउन १२-
माओवादी केन्द्र निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठनले सरकारी जग्गा हडपेर भवन निर्माण गरेको छ । जिल्ला समन्वय समिति (जिसस)चितवनको स्वामित्वमा रहेको जग्गामा संगठनले जबरजस्ती भवन निर्माण थालेको हो ।
सरकारी जग्गा कर्मचारी संगठनले जबरजस्ती हडपेपछि जिसस अदालत जाने तयारीमा छ । तत्काल निर्माण कार्य रोक्न माग गर्दै अदालत जाने तयारी भइरहेको जिसस चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । सरकारी जग्गामा संगठनले मनोमानी ढंगबाट आफ्नो संरचना निर्माण गरिरहेको उहाँले बताउनुभयो ।
जिसस कार्यालय अगाडिको सरकारी अतिथि भवनमा यसअघि गंगाराम कलेज सञ्चालनमा थियो । कलेज त्यहाँबाट हटेपछि अतिथि भवन र भवनले चर्चेको जग्गामा यातायात व्यवस्था सेवा कार्यालयले सेवा सञ्चालन गर्दै छ ।
यातायात कार्यालयलाई दिइएको जग्गा हडपेर कर्मचारी संगठनले आफ्नो भवन बनाउन लागेको हो ।अतिथि भवन र भवनले चर्चेको करिब चार कठ्ठा जग्गा तीन वर्षको लागि सार्वजनिक सेवा प्रवाहको लागि प्रयोगमा ल्याउने उद्देश्यले जिसस र यातायात कार्यालयबीच २०७८ चैत ६ गते सम्झौता भएको थियो ।
यातायात कार्यालय स्थापना कालदेखि नै भाडाको घरबाट सेवा दिँदै आएको छ । जिससले यातायातलाई भवन र जग्गा निःशुल्क जग्गा उपलब्ध गराएको हो ।
‘
जिससका सदस्य कृष्णभक्त भट्टराईले कानुनी प्रक्रिया पुरा गरेर जबरजस्ती बनाउन लागिएको संरचनाको काम रोक्न लागिएको जानकारी दिनुभयो ।

यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख विनोद पौडेलले जग्गा प्राप्तिको प्रक्रियामा नै रहेकाले संरचना निर्माणमा रोक लगाउन नसकिएको बताउनुभयो ।
यातायात कार्यालयले अहिले मासिक ९० हजार रुपैयाँ भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको छ । भाडाको कार्यालय साँघुरो भएकाले पार्किङदेखि सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।
सवारी चालक अनुमति पत्र (लाइसेन्स)को सेवा सुरु गर्ने तयारीमा रहेको कार्यालयलाई अहिले सेवा दिँदै आएको भाडाको कार्यालयबाट सेवा दिन कठिन छ ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष प्रेम ढकालले एमाले र कांग्रेस निकटका कर्मचारी संगठनको सरकारी जग्गामा कार्यालय रहेकाले आफुहरुले पनि कार्यालय बनाउन लागिएको बताउनुभयो ।
सरकारी स्वामित्वको जग्गामा सहमति विना संरचना बनाउन लागेको स्वीकार गर्दै उहाँले अरु संगठनले कार्यालय बनाएकाले आफ्नो संगठनले पनि बनाउन लागेको बताउनुभयो ।
कानुनी अड्चन आए सोहि अनुसार अघि बढ्ने उहाँले बताउनुभयो । -न्युज कारखाना








