काठमाडौं, ९ साउन-
अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले बेवास्ता गरेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो गठबन्धनको बैठकमा पनि सो बारे प्रश्न उठाउँदै तत्काल अस्वीकार गर्ने पत्र पठाउन अनुरोध गरे पनि प्रधानमन्त्री देउवाले भने कार्यान्वयन नगरेर वेवास्ता गरेका हुन् ।
‘विश्वको भु–राजनीतिक तनाव र नेपालको परिस्थिति’ विषयक विचार गोष्ठीमा आफनो अनुरोध प्रधानमन्त्री देउवाले अझै कार्यान्वय नगरेको गुनासो पोखेका नेपालले मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्दै अमेरिकालाई तत्काल पत्र पठाउन पुनस् माग गरेका छन ।
गत ६ असारमा बसेको मन्त्रीपरिषद् बैठकले एसपीपीलाई अस्विकार गर्ने निर्णय गरेको थियो । अमेरिकी सैन्य गठबन्धनको एक अंग भएको भन्दै तीब्र आलोचना भएपछि सरकारले मन्त्री परिषद् बैठकमार्फत सो सहमति नगर्ने निर्णय लिएको थियो ।
तर, सो निर्णय भएको एक महिना बितिसक्दा पनि देउवा सरकारले अमेरिकालाई सो सम्बन्धी पत्राचार नगरेपछि प्रचण्ड–नेपालले गठबन्धनको बैठकमा पनि सो प्रश्न उठाएका थिए ।
उता, एसपीपी अस्विकार गर्ने मन्त्री परिषद्को सो निर्णय कार्यान्वयन नभएपछि माओवादी केन्द्रले ५ साउनको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले रुलिङ नै गर्नुपर्ने मागसमेत गरेको थियो ।