चितवन , ८ साउन –
नेवा: पुच: नारायणगढले चितवनमा पहिलो पटक गठेमंगल जात्रा मनाउने भएको छ । गठेमंगल जात्रा विशेष गरेर नेवारी समुदायले मनाउँछन ।
वर्षभरिका चर्तुदशीहरू मध्ये गठेमंगल चतुर्दशी को महत्त्व निकै फरक, अनि व्यवहारिक छ । यस दिनबाट औपचारिक रूपमा उपत्यकामा जात्राको सुरुवात भएको मानिन्छ । यो चतुर्दशीलाई धातु दिनको रूपमा पनि लिइन्छ । नेवा: शब्द गथांमुगः अपभ्रंश हुँदै नेपालीमा गठेमङ्गल भएको हो । यो दिन बाटा-बाटामा राक्षस या प्रेत आत्माका लागि भनी पात या बोहोता, दुना टपरीमा पाकेका भात अनि खानेकुरा राखिन्छ । मुख्यतया दोबाटामा यस्ता खानेकुरा राखिन्छ । यस्ता खानेकुरा राख्नाले र पूजा अर्चना गर्नाले भूतप्रेत, पिशाचलगायत हावा, आगो अनि विभिन्न तन्त्र मन्त्रको साध्यबाट समेत जोगिन्छ विश्वास गरिन्छ ।
यही श्रावण १० गते , मंगलबार बिहान ८ बजे बालकुमारी कन्या माध्यमिक विध्यालय अगाडिको चोकमा राक्षस घंटाकर्णको प्रतिमा स्थापना गरेर दिनभरी राखिन्छ , साँझको ५ बजे बाजा गाजासहित पुजा गरेर सगुन खाएर प्रतिमालाई नारायणी नदिमा सेलाउने कार्यक्रम राखिएको छ र संपूर्ण नगरवासीलाई उक्त कार्यक्रममा सहभागीताको लागि नेवा: पुच: नारायणगढले अनुरोध गरेको छ ।