काठमाडौं, ४ साउन-
एमाले अध्यक्ष केपी ओलीले फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताउनुभएको छ ।
आज (बुधबार) एमाले बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका पार्टीबीच समाजवादी केन्द्र निर्माणका विषयमा भइरहेको छलफलप्रति संकेत गर्दै ओलीले फुटका लागि एकता अभियान सुरु भएको बताउनुभएको हो ।
ओलीले भन्नुभयो ।‘आज तपाईहरूले अखबारमा हेर्नुभएको छ नि एकता अभियान । यो फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको छ । यो त्यति सफल हुँदैन,’
मंगलबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको थियो ।
मंगलबार नै प्रचण्ड र बाबुराम भट्टराईबीच पनि समाजवादी केन्द्र स्थापना गर्ने विषयमा छलफल भएको थियो । -न्युज कारखाना