काठमाडौं, साउन ३-
कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो ।
सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट छुटेका पाइएकाले उनीहरुलाई खोप लगाउन आग्रह गरिएको हो ।
खोपले सङ्क्रमण भए पनि जटिल अवस्था निम्तन नदिने भएकाले खोपको महत्त्व बुझ्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आग्रह गर्नुभयो ।
कोरोना भाइरसको सङ्क्रमण रोक्नका लागि जनस्वास्थ्यका मापदण्ड पालना नै एक मात्र उपाय भएको डाक्टर अधिकारीले बताउनुभयो । खोप लगाइसकेका र खोप लगाउन बाँकी रहेकाहरुले स्वास्थ्यको मापदण्ड पालना गरे सङ्क्रमण फैलिन नपाउने उहाँको भनाइ छ ।