काठमाडौं, साउन २-
नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको छ ।
उहाँले आज प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाउनुभएको हो । सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उहाँले राजीनामा दिनुभएको हो ।
पोखरेलले दायर गरेको रिट सर्वोच्चले असार ३१ मा खारेज गरेको थियो । यससँगै पोखरेलको आईजीपी बन्ने सपना चकनाचुर भएको थियो । वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो ।
वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै प्रतिस्पर्धी एआईजी पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।