मकवानपुर, १ साउन-
तोकिएको समयभन्दा तीन महिनाअगावै पुल निर्माण गर्ने एलिट कन्स्ट्रक्सन कम्पनी प्रालि पुरस्कृत हुने भएको छ ।
हेटौंडा-११ नवलपुर र पदमपोखरी जोड्ने राप्ती नदीको पक्की पुल तोकिएको समयभन्दा तीन महिनाअघि नै निर्माण सम्पन्न भएपछि ठेकेदार कम्पनी पुरस्कृत हुने भएको हो ।
सो पुल २६ असोजभित्र निर्माण गरिसक्ने गरी ठेक्का लगाइएको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका निर्देशक सहदेव भण्डारीले जानकारी दिनुभयो ।
बागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले दुई सय १५ मिटरको उक्त पक्की पुल २७ असोज ०७६ असोजमा निर्माण सम्झौता गरेको थियो । राप्ती नदीमाथि रहेको ४ स्पानको ११ मिटर चौडाइको पुल २७ करोड ४६ लाख २० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
बागमती प्रदेश सरकार गठन भएदेखि हालसम्म ७१ वटा पुल निर्माण भइसकेको यातायात पूर्वाधार निर्देशनालयले जनाएको छ । उसका अनुसार यसअघि पनि एउटा पुल समयअगावै निर्माण सम्पन्न भएको थियो । -न्युज कारखाना