चितवन,असार २४
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा देजकुमार गौतममाथि भएको हातपातको प्रयासको सर्वत्र विरोध भएको छ ।
हिजो बिहीबार दिउँसो उनकै कार्यकक्षमा हातपातको प्रयास भएको थियो । त्यसको स्वास्थ्यकर्मी सम्बद्ध विभिन्न संघ संगठनहरुले विरोध जनाएका छन् ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले एक विज्ञप्ति प्रकाशित गरी दोषीलाई कारवाही नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ । महासंघका महासचिव डा सन्तोष पौडेलद्वारा जारी गरिएको विज्ञप्तिमा उक्त घटनाप्रति खेद प्रकट गरिएको छ ।
अस्पतालको नियमित काममा रहेकै अवस्थामा आफ्नै कार्यकक्षमा अस्पतालका कार्यकारी निर्देशकमाथि नै यस्ता खालका अमानवीय एवं हिंस्रक घटना हुनुले समग्र स्वास्थ्यकर्मीहरुमाथि नै त्रास र असुरक्षा महसुस भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
भनिएको छ ‘यस्ता कुकृत्यमा संलग्न सबै दोषीलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थाको सुरक्षा सम्बन्धी ऐनको (पहिलो संशोधन) अध्यादेश २०७९ अनुसार कुनै आग्रह पूर्वाग्रह नराखी कडाभन्दा कडा कारवाही गर्न जोडदार माग गर्दछौं ।’
विज्ञप्तिमा कारवाही नभए देशव्यापी विरोधका कार्यक्रम ल्याउन महासंघ बाध्य हुने चेतावनी दिइएको छ ।
घाँटीको शल्यक्रिया सकेर कार्यकक्षमा फर्र्किएका डा। गौतममाथि अस्पतालसँग असम्बन्धित व्यक्तिहरुले हातपातको प्रयास गरेका हुन् । उनीहरुले डेढ बर्ष अगाडि कामबाट हटाइएकी एक ज्यालादारी कर्मचारीलाई पुनः काममा फर्काउनुपर्ने र स्थायी गर्नुपर्ने दबाव दिएका थिए । तर आफूले अस्वीकार गरेपछि आक्रमणको प्रयास गरेका डा गौतमले बताए ।