धनुषा, असार २०-
मधेस प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आव्हान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा सरकारद्वारा प्रस्तुत बजेटमाथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । यही असार १ गते प्रदेशसभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले आगामी आव ०७९/०८० का लागि रु ४६ अर्ब ८८ करोड नौ लाख ४६ हजारको बजेट प्रस्तुत गरेका थिए । यसपछि प्रदेशसभा सचिवालयले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैठक स्थगित भएको थियो । – रासस
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













