चैत्र ९,चितवन।
पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ निपनी चोकमा तेल बोकेको ट्यांकरको ठक्करबाट स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । स्कुटर चालक भने सकुसल छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीय मिना रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए । स्कुटर चालक सोहि ठाउँ बस्ने ५३ वर्षीय पूर्ण सापकोटा सकुसल रहेको खनालले बताए ।
घटनापछि पूर्वी चितवनको निपनी तनावग्रस्त बनेको छ ।
आज दिउँसो ३ः२५ बजेको समयमा खैरहनीबाट भरतपुरतर्फ आउँदै गरेको लु २ ख २८९४ नम्बरको डिजेल लोड भएको ट्याङ्करले भित्रीबाटोबाट निस्किदै गरेको ना ५५ प ८०७७ नम्बरको स्कुटरलाइ ठक्कर दिएको हो ।
सोहि ट्याङ्करले सडक साइटमा रोकि राखेको ना ६५ प ७८८३ र ना ५५ प ८०८३ नम्बरको मोटरसाइकल र साइकललाइ समेत ठक्कर दिँदा ती सवारी साधनमा क्षति पुगेको छ ।
प्रहरीले ट्याङ्कर चालक राप्ती नगरपालिका–७ बस्ने बर्ष २४ को सुजन तामाङलाई पक्राउ गरेको छ ।








