८ चैत, काठमाडौं ।
नेपाली कांग्रेसभित्रको विवाद बढ्न थालेको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहँदा शेरबहादुर देउवा र शेखर कोइराला समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको हो ।
नेता मीनबहादुर विश्वकर्माका अनुसार आज बिहान नेता पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टी कार्यसम्पादन समितिको बैठक बसेको थियो । ‘आज पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यसम्पादन समितिको बैठक बस्यो । बैठकले छिटै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको छ,’ धुम्बाराहीमा बसेको बैठकबारे उनले अनलाइनखबरसँग भने ।
बैठक खड्काले नेताहरूसँग आवश्यक परामर्श गरी समय र मिति तय गर्ने उनको भनाइ छ ।
उनले बैठकमा कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई नबोलाइने पनि बताए । यसअघि पूर्णबहादुर खड्काकै अध्यक्षतामा बसेको बैठकले थापा र शर्मालाई कारबाही गरेको थियो । सोहीकारण आगामी बैठकमा उनीहरूलाई नबोलाइने विश्वकर्माको भनाइ छ ।
यो समूहले पार्टीको विशेष महाधिवेशनविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा विचाराधीन रहेकोले अन्तिम फैसला नआउन्जेल पार्टीमा गतिविधि जारी रहने उनको भनाइ छ ।
आजको बैठकमा नेताहरू खड्का, शेखर कोइराल, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार, बद्री पाण्डेलगायत सहभागी थिए ।








