वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ४८ घण्टाको अल्टिमेटम दिँदै विश्वकै प्रमुख तेल पारवहन मार्ग हर्मुज जलडमरू पूर्ण रूपमा खुला गर्न चेतावनी दिएका छन्। यदि तोकिएको समयभित्र हर्मुज जलडमरू विनाकुनै अवरोध र धम्की खुला नगरिए इरानका विद्युत् गृहहरूमाथि आक्रमण गरी ध्वस्त पार्ने ट्रम्पको धम्की छ।
आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा एक पोस्ट गर्दै ट्रम्पले लेखेका छन्-‘यदि इरानले अहिलेको ठ्याक्कै समयदेखि ४८ घण्टाभित्र होर्मुज जलसन्धिलाई विनाकुनै धम्की पूर्ण रूपमा खुला गरेन भने, संयुक्त राज्य अमेरिकाले उनीहरूका विभिन्न पावर प्लान्टहरूमा प्रहार गरी ती सबैलाई ध्वस्त पार्नेछ! र यसको सुरुवात सबैभन्दा ठुलो पावर प्लान्टबाट हुनेछ।’
विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने होर्मुज जलसन्धिमा इरानले अवरोध सिर्जना गरेको भन्दै ट्रम्प आक्रोशित भएका हुन्। उनले सिधा र स्पष्ट शब्दमा इरानको ऊर्जा पूर्वाधारलाई निशाना बनाउने बताएका छन्।
यसअघि पनि ट्रम्पले इरानको नेतृत्व र सैन्य शक्ति समाप्त भइसकेको दाबी गरेका थिए।








