काठमाडौं, चैत ५-
काठमाडौं उपत्यकाको ठूलो पर्व जात्राको रुपमा लिइने पाहाँ चर्हे जात्रा आज समापन गरिएको छ । आज चर्हेको तेश्रो दिन असनमा टेबहालका लुमधि अजिमा (भद्रकाली), वटुका नीलकाली अजिमा, कंगका कंग अजिमा (कंकेश्वरी) देवीका खट जुधाइ समापन गरिएको हो ।
नेवार समुदायले धार्मिक, सांस्कृतिक र ऐतिहासिक परम्पराअनुसार मनाउँदै आएको पाहाँचःह्रे चाडको विशेष महत्व छ। “पाहाँ” अर्थात् पाहुना र “चःह्रे” अर्थात् चतुर्दशीबाट बनेको यस चाडमा पाहुनालाई बोलाई भोज खुवाउने परम्परा प्रमुख मानिन्छ। नेवार संस्कृतिमा अरूलाई खुवाएर मात्र आफू खाने चलन भएकाले यस चाडले आतिथ्य सत्कारको भाव झल्काउँछ।
यो पर्व हरेक वर्ष चैत्र कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म मनाइन्छ। जाडो सकिएर गर्मी सुरु हुने समयमा आउने हुरी, वर्षा तथा रोगबाट बच्न धार्मिक उपायस्वरूप विभिन्न देवताको पूजा गरिन्छ। कतिपय स्थानमा राँगा, हाँस, कुखुरा र बोका बलि दिएर तान्त्रिक विधिबाट पूजा गरिन्छ। यस दिन लुकुमहाद्यः (लुकेका महादेव) लाई समय्बजि, छ्वयला र जाँड–रक्सी चढाई पूजा गर्ने परम्परा छ। किंवदन्ती अनुसार शनिको दशाबाट बच्न महादेव फोहोरको थुप्रोमा लुकेका थिए र पछि त्यहीँ शिवलिङ्ग फेला परेपछि पूजा सुरु भएको मानिन्छ।
पाहाँचःह्रेको पहिलो दिन कंकेश्वरी मन्दिर नजिक लिङ्गो (यँसी) उठाइ जात्राको शुभारम्भ गरिएको थियो भने भोलिपल्ट बालबालिकालाई अजिमाको प्रसादको रूपमा “मरःजा” खुवाइयो, जसले भूतप्रेत र रोगबाट जोगाउने विश्वास गरिन्छ। साथै यस पर्वसँग घोडेजात्रा, अष्टमातृका देवीका खटजात्रा, इचंगु महालक्ष्मी जात्रा र विभिन्न देवदेवीका पूजा तथा भोजका परम्पराहरू पनि जोडिएका छन्। यसरी पाहाँचःह्रे नेवार संस्कृतिको महत्वपूर्ण सामाजिक र धार्मिक पर्व हो।









