चैत्र ४, चितवन ।
चितवनको राप्ती नगरपालिका अन्तर्गत विभिन्न वडामा लगाइएको अवैध अफिम खेती प्रहरीले फडानी गरी नष्ट गरेको छ।
इलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी सहायक निरीक्षक खुस बहादुर बस्नेतको कमाण्डमा खटिएको गस्ती टोलीले राप्ती नगरपालिका वडा नं. १०, ११ र १२ का विभिन्न स्थानमा अन्दाजी १० कठ्ठा क्षेत्रफलमा अवैध रूपमा लगाइएको अफिम खेती फेला पारी नष्ट गरेको हो।
प्रहरीका अनुसार नियमित गस्ती तथा निगरानीका क्रममा उक्त अफिम खेती पत्ता लागेको थियो। लागूऔषध उत्पादन तथा कारोबार नियन्त्रण गर्ने उद्देश्यले यस्तो अभियान सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले अवैध खेती गर्ने व्यक्तिहरूको पहिचान गर्ने प्रयास भइरहेको र लागूऔषध सम्बन्धी कसुरमा संलग्नलाई कानुनी दायरामा ल्याइने बताएको छ।









