गैँडाकोट, २४ पुस-
चौथो संस्करणको गैँडाकोट महोत्सव एवम् व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । पुस २५ देखि माघ १० गतेसम्म नवलपुरको गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा सञ्चालन हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको हो ।
महोत्सव आयोजक संस्था जिल्ला उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक छवि कँडेलले महोत्सवको ९० प्रतिशत तयारी पूरा भएको जानकारी दिए । उनले महोत्सव स्थलमा स्टल निर्माण, मञ्च निर्माण, बाल उद्यान, कृषि परिसर निर्माणको काम अन्तिम चरणमा भएको बताए । आज साँझसम्म महोत्सवको तयारी पूरा हुने उल्लेख गर्दै कँडेलले महोत्सव स्थलमा जलपरी, फिस टनेल, ओपेरा हाउस निर्माणको काम तीव्ररुपमा अगाडि बढेको जानकारी दिए ।
महोत्सव सचिवलय संयोजक एवम् संघका महासचिव तेजनारायण पाण्डेले सचिवालयले सबै काम पूरा गरि उद्घाटनको तयारीमा जुटेको जानकारी दिए । महोत्सव उद्घाटनका दिन बिहान १० बजे गैँडाकोट नगरपालिकाबाट वृहत् शोभायात्रा निकाल्ने गरी तयारी भइरहेको भन्दै पाण्डेले नगरपालिकाभित्रका सबै संघसंस्थालाई पत्राचार गरिएको बताए । शोभायात्रामा सहभागी हुने धार्मिक संघसंस्था, विद्यालय, सामुदायिक वन, वित्तीय संस्था, खेलकुदका संघसंस्था तथा विभिन्न सामाजिक संघसंस्थाले आफ्नो पहिचान झल्किनेगरी झाँकी सहित शोभायात्रामा सहभागिता जनाउने पाण्डेको भनाइ छ ।
संघका वरिष्ठ सदस्य एवम् महोत्सव प्रचारप्रसार समिति संयोजक शालिकराम सापकोटाले महोत्सवको व्यापक प्रचारप्रसार गरिएको बताए । महोत्सवको प्रचारप्रसारका लागि सञ्चारमाध्यमबाट सूचना प्रवाहसँगै, राजमार्गका विभिन्न स्थानमा स्वागतद्वार तथा ब्यानर एवम् फ्लेक्स निर्माण गरी राखिएको सापकोटाले बताए । सापकोटाकाअनुसार यसपटकको महोत्सव अरु समयको भन्दा फरक हुने बताए ।
संघका अध्यक्ष एवम् महोत्सवका संरक्षक दीपक सापकोटाले किसानहरुले उत्पादन गरेको कृषिजन्य सामग्री महोत्सवस्थलमा निःशुल्क प्रदर्शनी र बिक्री गर्ने व्यवस्था मिलाइएकोे जानकारी दिए । “कृषिको प्रवद्र्धन गर्ने उद्देश्यले कृषकले उत्पादन गरेको कृषिउपजलाई महोत्सवमा निःशुल्क स्टल प्रदान गर्दैछौँ” उनले भने, “यसले कृषकलाई कृषि पेसामा लाग्न प्रेरित गर्ने हाम्रो अपेक्षा छ ।” काउली, मुला, गाजर, साग, बन्दालगायतका सामग्रीहरु कृषकले प्रदर्शनीमा राख्ने उनको भनाइ छ ।
दुई लाख बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा २५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ । महोत्सवलाई सुरक्षित पार्नका लागि आन्तरिक र बाह्य सुरक्षाकर्मी परिचालनसँगै सिसि टिभी क्यामेराबाट निगरानी, बिमा गरिएको आयोजकले जनाएको छ । त्यस्तै महोत्सव अवधिभर हरेक दिन स्थानीय तथा ख्याति प्राप्त राष्ट्रिय कलाकारबाट विविध सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिने छ ।






