सिरहा, २२ पुस :
कर्जन्हा नगरपालिकामा एक महिनाअघि मृत फेला परेकी १७ वर्षीया किशोरी अविना वैधको हत्याको विषयमा नयाँ तथ्य पत्ता लागेको छ ।
प्रारम्भिक रूपमा रहस्यमय बनेको घटनामा फोन कल विवरण, भेटघाटको क्रम र आरोपीको बयानले हत्या आरोप पुष्टि भएको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), मधेस प्रदेश प्रहरी कार्यालय तथा स्थानीय प्रहरीको संयुक्त अनुसन्धानपछि धनुषाको क्षिरेश्वर नगरपालिका–३ का ४५ वर्षीय रामबालक चौधरीलाई पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालको अनुसार आरोपी र मृतकबीच पहिलेदेखि नै सम्पर्क र प्रेमसम्बन्ध रहेको खुलेको छ ।
पत्रकार सम्मेलनमार्फत आज घटना विवरण सार्वजनिक गर्दै सूचना अधिकारी पालले भन्नुभयो, “घटनाअघि राति दुवैबीच भएको फोन सम्पर्क, भेट भएको स्थान र समय तथा घटनास्थलसँग मेल खाने प्रमाणका आधारमा हत्या उनैले गरेको निष्कर्षमा प्रहरी पुगेको हो ।” उहाँका अनुसार यी सबै प्राविधिक र परिस्थितिजन्य प्रमाणका आधारमा चौधरीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाइएको छ ।
अभियुक्त चौधरी विवाहित व्यक्ति हुन् । प्रहरीका अनुसार उनका एक सन्तान पनि छन् । तर पछिल्लो समय श्रीमतीसँग पारिवारिक विवाद बढेपछि उनी अलग्गै बस्दै आएको खुलेको छ । गत मङ्सिर २२ गते अपराह्न करिब २ः४५ बजेतिर कर्जन्हा नगरपालिका–२ स्थित स्कुल टोल नजिक कमला सिँचाइ नहर छेउको झाडीमा बल्टिया निवासी सूर्यदेव वैधकी १७ वर्षीया छोरी अविनाको शव फेला परेको थियो ।
सूचना अधिकारी पालका अनुसार घटनापछि आरोपी फरार रहेकाले अनुसन्धान जटिल बनेको थियो । तर कल डिटेल र बयानको विश्लेषणपछि घटनाको शृङ्खला जोड्न सफल भएको प्रहरीले जनाएको छ । हाल आरोपीलाई सिरहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।






