पुष १७ चितवन ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि बुझाएको बन्दसूचीमा चितवनकै २१ जना परेको भन्दै व्यापक विरोध भयो । तर, सभापति रवि लामिछानेले भने चितवनबाट चार जनामात्रै सूचीमा रहेको दाबी गरेका छन् ।
चितवन लामिछानेले चुनाव लडेको जिल्ला हो । उनी चितवन–२ बाट २ पटक (आवधिक निर्वाचन र उपनिर्वाचन) भारी मतान्तरले विजयी भएका थिए । फेरि पनि यही क्षेत्रमा लड्ने तयारीमा छन् ।
हिजो कास्की पुगेका लामिछानेलाई सञ्चारकर्मीले चितवनबाटै २१ जना बन्दसूचीमा परेको विषयमा जिज्ञासा राखेका थिए । रविले भने पार्टीको लिस्ट देखाउँदै चितवनका चार जनामात्रै रहेको बताएका हुन् । बन्दसूचीमा २१ जनाले नागरिकता लिएको जिल्ला ‘चितवन’ उल्लेख भए पनि ३ मध्ये १७ जना चितवनवासी नभएको उनको भनाइ थियो ।
लामिछानेले सबैभन्दा बढी काठमाडौंकै उम्मेदवार भएको बताए ।
उनले भने, ‘यो मलाई पार्टीले दिएको आधिकारिक सूची हो । तपाईंले हेर्दा पनि हुन्छ । चितवनबाट जम्मा ४ जना हुनुहुन्छ । धेरै चैं काठमाडौंबाट १० जना छन् ।’
बन्दसूचीमा भने २१ जनाको नागरिकता लिएको र ‘जिल्ला चितवन’ उल्लेख छ । यस विषयमा हामीले चितवनका जिल्ला सभापति कृष्ण भूषाललाई पनि सोध्यौं । उनले पनि ४ जना मात्र चितवनका मतदाता भएको बताए ।
भुषालका अनुसार डा. मनोहर प्रधान, समिना मिया, प्रभा ढकाल र सरला लामिछाने चितवनका हुन् । ‘अरुले चितवनबाट नागरिकता लिनुभएको भए पनि उहाँहरु यहाँको मतदाता हुनुहुन्न,’ उनले भने ।
बन्दसूचीमा आदिवासी जनजाति, पुरुष क्लस्टरमा मात्रै ५ जनाको नागरिकताको जारी जिल्ला चितवन देखिन्छ । डा. मनोहर प्रधान, विश्व राई, धर्मलाल तामाङ, टासी लाक्पा शेर्पा र सुदेश गुरुङले चितवनबाट नागरिकता लिएका हुन् । खस आर्य पुरुषतर्फ सचिन ढकाल, सुदीप ढकाल, अनुपकुमार उपाध्याय, दुर्गाबहादुर घिमिरे, जनक न्यौपाने, पवन शाही, टीक राम दाहाल गरी ७ जना चितवनबाट नागरिकता लिनेमा पर्छन् ।
यस्तै, खसआर्य महिलातर्फ विदुषी राणा, श्रद्धा कुँवर, मञ्जु भुषाल, रचना खतिवडा क्षेत्री, सिर्जना वली, सीतादेवी पाण्डे, प्रभा ढकाल र सरला लामिछाने गरी ८ जनाको नागरिकता चितवनबाट जारी भएको देखिन्छ ।






