चिवतन, असार ७ –
चितवनमा स्कुल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिकाका ३४ वर्षीय बिनोद थापा रहेका छन् । आज (मंगलबार) बिहान १०:१० बजे चितवन भरतपुर महानगरपालिका ४ अनुपम चोकमा होली भिजन पब्लिक स्कुलको ना १ क ३५९६ नम्बरको बसले ना ३३ प ३६६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका थापाको चितवन मेडिकल कलेज (सिएमसी) मा उपचारको क्रममा ११:४३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको टाउको र खुटामा चोट लागेको थियो । बसको ठक्करबाट मोटरसाइकल चालक सोही स्थानका ३४ वर्षीय आयुष बोहोरा गम्भीर घाइते भएका छन् । उनको सिएमसीमा उपचार भइरहेको छ ।
भित्री सडक खण्डमा डेरी चोकबाट यज्ञपुरी चोकतर्फ जाँदै गरेको बसले आनन्दपुरबाट भरतपुरतर्फ आउँदै मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा छ ।