चितवन, पुस १६-
चितवनको आर्थिक, औद्योगिक तथा पर्यटन क्षमतालाई राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित आउँदो पुस २५ गतेदेखि माघ १० गतेसम्म भरतपुरस्थित नारायणी नदी किनारमा ‘नारायणी एक्सपो २०८२’ आयोजना हुने भएको छ ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा हुन लागेको एक्सपोमार्फत स्थानीय तथा राष्ट्रिय स्तरका उद्यम, व्यापार र उद्योगको प्रवद्र्धन गरिने आयोजकले नारायणी नदी किनारमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ । एक्सपोले चितवनको आर्थिक गतिविधिलाई चलायमान बनाउँदै स्थानीय उद्यमीलाई आफ्ना सीप, उत्पादन र उद्यमशीलता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको प्रा.लि.का अध्यक्ष विकल क्षेत्रीले जानकारी दिए ।
चाडपर्व तथा सार्वजनिक बिदाको समयलाई लक्षित गरी आयोजना गर्न लागिएको एक्सपोमा व्यापार–प्रदर्शनसँगै कला, संस्कृति, खानपान, मनोरञ्जन र नवप्रवर्तनका विविध गतिविधिहरू समेटिने छन् । परिवार, बालबालिका, युवा तथा ज्येष्ठ नागरिक सबैका लागि स्वस्थ मनोरञ्जन र सामाजिक भेटघाटको साझा प्लेटफर्मका रूपमा एक्सपो सञ्चालन गरिने आयोजकको भनाइ छ ।
एक्सपोमार्फत स्थानीय तथा राष्ट्रिय व्यापार प्रवद्र्धन, विभिन्न संघ–संस्था, व्यवसायी तथा स्टार्टअपहरूलाई सहयोग पुग्ने विश्वास लिइएको छ । साथै सहभागी संस्थाहरूको ब्रान्ड प्रवद्र्धन, नेटवर्किङ र व्यापारिक अवसर विस्तारमा समेत सहयोग पुग्ने आयोजकको दाबी छ । घुमौँ लण्डन सिटी, पेरिस सिटी कश्मिर भ्याली र अमेरिका एकै ठाउँमा भन्ने मुल नाराका साथ गर्न लागिएकाृ एक्सपोमा २ सयभन्दा बढी स्टल रहने बताइएको छ । एक्सपोमा दुई लाख दर्शक आउने अपेक्षा गरिएको छ ।
यता जिल्ला प्रशासन कार्यालय चितवनले भने पुस २५ गतेभित्र एक्सपो नगर्न अनुरोध गरेको छ । पुस १० गते नै सूचना जारी गर्दै जिल्लाका विभिन्न ठाउँमा महोत्सवको आयोजना गरिएकाले तत्कालका लागि नारायणी नदी किनारमा कार्यक्रम नगर्न अनुरोध गरेको हो ।





