काठमाडौँ १४ पुस
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक उम्मेदवार छनोटका लागि भएको प्राइमरी निर्वाचनको समय सकिएको छ ।
आज बिहान मतदान प्रक्रिया सकिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । प्राइमरी निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशीतर्फको मत कलेक्सन गर्नका लागि करिब ५ बज्न सक्ने उनले बताए । रास्वपाले शनिबार बिहान ७ बजेदेखि आइतबार बेलुका साँझ ७ बजेसम्म समय तोकेको थियो । तर मतदाताको चापको कारण देखाउँदै रास्वपाले सोमबार बिहान १० बजेसम्म समय थपेको थियो ।
‘मतदान गर्ने समय सकिएको छ । प्राइमरी निर्वाचनको परिणाम, पोलिटिकल प्रोक्सिमिटी र समावेशीतर्फको मत सङ्कलन गर्न करिब ५ बज्छ होला । त्यसपछि निर्वाचन आयोगमा जानेछौँ’, उनले भने ।
उम्मेदवारका आकाङ्क्षी र निर्वाचन प्रक्रियामा आएको मत सार्वजनिक गर्ने वा नगर्ने विषयमा निष्कर्षमा नपुगेको उनले बताए । रास्वपाले कात्तिक २२ गतेदेखि समानुपातिक उम्मेदवार छनोटका लागि आह्वान गरेको थियो । रास्वपालै ५० प्रतिशत लिडरसीप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिताको मापन र ५० प्रतिशत पार्टी सदस्यबाट प्राइमरी निर्वाचन विधि मार्फत उम्मेदवार छनोट गरेको हो ।





