काठमाडौं पुष १०
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आफ्नै नेतृत्वमा नयाँ दल बनाउने तयारीमा जुटेका छन्।
दल गठनका लागि बालेनसहितको टिम विभिन्न राजनीतिक दलका नेता, पत्रकार, सिभिल सोसाइटीका अगुवा, कलाकार र अन्य पेशागत व्यक्तिसँग परामर्शमा सक्रिय रहेको छ।
बुधबार उनी ललितपुरको कुपण्डोलस्थित एक घरमा गएराति अबेरसम्म विभिन्न व्यक्तिसँग छुट्टाछुटै र सामूहिक रूपमा छलफलमा व्यस्त रहेका थिए। स्रोतका अनुसार, यी छलफल आज पनि जारी रहनेछ।
छलफलमा राप्रपा, जनमत, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जेजी फ्रन्टका प्रतिनिधि र केही पत्रकारहरू सहभागी थिए। विशेषगरी नागरिक उन्मुक्तिका रेशमलाल चौधरी, मिलन पाण्डे, जेन–जेजी फ्रन्टकी संयोजक रक्षा बम र शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल सहभागी भएका थिए।
मिडियाकर्मी सुरजसिंह ठकुरी र ऋषि धमलासँग पनि बालेनले छलफल गरेका थिए। बालेनको समूहले आज पनि विभिन्न व्यक्तिसँगको छलफललाई निरन्तरता दिने योजना बनाएको स्रोतले जनाएको छ।






