चितवन, ४ पुसः
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा सञ्चालन गरिएको “Faculty Development Training on Instruction Pedagogy and Evaluation” शीर्षकको सातदिने शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।
मंसिर २६ गतेदेखि पुष ३ गतेसम्म सञ्चालन गरिएको तालिमको समापन समारोह विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा योजना निर्देशनालयका निर्देशक डा. रामहरि तिमिल्सेना तथा टेक्सास टेक विश्वविद्यालयका प्राध्यापक कृष्णप्रसाद पौडेलको विशेष उपस्थिति रहेको थियो। साथै कृषि संकायका डिन प्रा.डा. अर्जुनकुमार श्रेष्ठ विशेष अतिथिका रूपमा सहभागी थिए।
तालिममा सहभागी शिक्षकहरूलाई उपकुलपति प्रा.डा. शारदा थपलियाबाट प्रमाणपत्र वितरण गरिएको थियो। समापन समारोहलाई सम्बोधन गर्दै उपकुलपति थपलियाले शिक्षकहरूको क्षमता अभिवृद्धि विश्वविद्यालयको शैक्षिक उत्कृष्टताको आधार भएको उल्लेख गर्दै यस्ता तालिमहरूले विश्वविद्यालयलाई उत्कृष्टताको दिशामा अघि बढाउने विश्वास व्यक्त गरे।
तालिमको क्रममा कृषि तथा वन विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. पुष्कर बहादुर पालले शिक्षकहरूले अवलम्बन गर्नुपर्ने Ethics, Ethos, Pathos र Logos का सिद्धान्तहरूबारे विशेष प्रशिक्षण प्रदान गरेका थिए।
उनले यी मूल्य आधारित अवधारणाहरूले शिक्षकको पेशागत आचरण, प्रभावकारी शिक्षण र विद्यार्थी केन्द्रित शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
निरन्तर शिक्षा केन्द्रका निर्देशक तथा तालिम संयोजक प्रा.डा. ओमप्रकाश सिंहले तालिम सफल बनाउन सहयोग पुर्याउने सम्पूर्ण सरोकारवाला निकाय, स्रोत व्यक्ति तथा सहभागी शिक्षकहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरे।









