– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, मंसिर २७ –
नेपाल प्रहरीका पूर्व प्रमुख सवेन्द्र खनालले पार्टी खोलेका छन् । चितवनको भरतपुरमा एक कार्यक्रमका बीच खनाल सभापति रहेको समुन्नत नेपाल पार्टी (सनेपा) को घोषणा गरिएको हो ।
‘समुन्नत नेपाल – समान अवसर, सुरक्षित भविष्य, सम्मानजनक जीवन’ लाई राष्ट्रिय दृष्टि मानेर पार्टी घोषणा गरिएको हो । यो दृष्टि नारा नभएर राज्य पुननिर्माणको एकीकृत खाका रहेको पार्टीको धारणा छ ।
३९ सदस्यीय केन्द्रीय कमिटी रहने गरी पार्टी घोषणा गरिएको छ । कमिटीको उपसभापतिहरुमा निर्मल थापा र सरिता यादव, महामन्त्रिमा बालकृष्ण पण्डित, सहमहामन्त्रिहरुमा शेख कस्मुद दिन र उत्तर कुमार श्रेष्ठ, कोषाध्यक्षमा शान्ता भट्ट, प्रवक्तामा सुदर्शन कार्की र सह प्रवक्तामा प्रज्वल भट्टराई रहेका छन् । अरु सबै सदस्य रहने गरी पार्टी केन्द्रिय कमिटी बनेको छ । पार्टीले संगठन विस्तार गर्दै मातहतका अन्य कमिटीहरु पनि निर्माण गर्ने बताएको छ ।
पार्टी घोषणा गर्दै सभापति खनालले भने, ‘नेपाल असफल देश होइन । नेपाल गलत ढंगले चलाइएको देश हो । यदि हामी राजनीति बदल्न तयार छौं भने समुन्नत नेपाल सम्भव छ ।’
जेन्जीले राखेका मागहरुलाई पूरा गर्ने कुरालाई प्रमुख प्राथमिकतामा राखेर पार्टी खोलिएको सभापति खनालले बताए । अहिलेको सरकारसहित नयाँ र पूराना कुनै पनि पार्टीले जेन्जीको भावनालाई बुझ्न नसकेको उनको भनाइ छ । जेन्जीले जसलाई सरकारमा पठाए तिनैले जेन्जीलाई अहिले आएर अलपत्र बनाएको खनालले दाबी गरे ।
पार्टीले वैचारिक आधारलाई तीन वटा बुंदामा राखेको छ । पहिलोमा छ, प्राग्मेटिक प्रोस्परिज्म । दोश्रो, समुन्नत नेपाल पार्टी न त कटट्र वाम हो, न कटट्र दक्षिण । तेश्रो बुँदामा छ, हाम्रो दर्शन प्राग्मेटिक प्रोस्परिज्म हो । यसलाई पार्टीले अर्काे ६ वटा बुँदामा सारका रुपमा प्रस्तुत गरेको छ ।
पहिलोमा छ, समृद्धि अनिवार्य छ । दोश्रो, समृद्धि उत्पादान, सीप, उद्यम र नवप्रवर्तनबाट आउँछ । तेश्रो, समावेशन दया होइन–आर्थिक बुद्धिमता हो । चौथौं, विकास वातावरणसँग द्वन्द्व होइन सहकार्य हो । पाचौं, नीति भावना होइन–डाटा र प्रमाणमा आधारित हुनुपर्छ । छैठौं, हामी अन्ध बाजरवाद र राज्य–नियन्त्रित असफलता दुबै अस्वीकार गर्छाैं ।
पार्टी घोषणा गर्दै सवेन्द्र खनालले ग्रामिण समृद्धि बिना राष्ट्रिय स्थिरता संभव नभएकाले ग्रामीण विकासमा ध्यान दिँदै कृषि विकासलाई पार्टीले प्रमुख प्राथमिकतामा राखेको बताए । उनले कक्षा १२ सम्म रोजगारयोग्य सीप प्रदान गर्ने र सन् २०३५ सम्ममा उच्च शिक्षा दर ४० प्रतिशत पु¥याउने पार्टीको लक्ष्य रहेको बताए । स्वास्थ्य खर्चका कारण कोही पनि गरिब नबन्ने गरी स्वास्थ्यमा सुधार ल्याइने उनले बताएका छन् । १० वर्षमा १५ लाख शिष्ट रोजगारी सृजना गर्ने उनले बताए ।
पाइलट–इभ्यालुएट–स्केल का आधारमा शासन सञ्चालन गर्ने खाका पार्टीले बनाएको छ । जसलाई ४ वटा बुँदामा व्याख्या गरिएको छ । पहिलो, डाटामा आधारित निर्णय, दोश्रो स्वतन्त्र समीक्षा, तेश्रो सार्वजनिक ड्यासबोर्ड, चांैथो आवश्यक परे कोर्स करेक्सन ।
पार्टीले चुनाव चिन्हमा महिला पुरुषले हात मिलाएको राखेको छ । समान हक हुनुपर्छ भन्ने मान्यताका आधारमा महिला पुरुषले हात मिलाएको चुनाव चिन्ह राखिएको पार्टीले जनाएको छ । पार्टीले सात तारे रातो झण्डा, झण्डाका बोर्डरमा निलो रंग राखेको छ ।
पार्टी घोषणा अघि भरतपुरको रिंग रोडमा मोटरसाइकल र्याली निकालिएको थियो ।







