भरतपुर, २४ मङ्सिर :
भरतपुरको ग्रीनल्याण्ड पब्लिक स्कुलमा भरतपुर महानगरीय विज्ञान प्रदर्शनी र आँखा परीक्षण सम्पन्न भएको छ । स्कुलमा जारी पिबिएल मेलाको दोस्रो दिन आज (बुधबार) एकै साथ दुई कार्यक्रम आयोजना भएको हो ।
आज भएको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरुले तयार पारेका प्रोजेक्टहरु प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा नारायणी पब्लिक स्कुल प्रथम भएको छ । यस्तै सृजना ईंग्लिस बोर्डिङ स्कुल दोस्रो तथा अर्किड स्कुल तेस्रो भएको कार्यक्रम संयोजक लिलबहादुर हमालले जानकारी दिएका छन् ।
उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्याब्सन बागमती प्रदेशका सल्लाहकार टिकाराम चापागाई, स्कुलकी प्राचार्य इन्दिरा कार्की, सह प्राचार्य उपेन्द्र आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए । प्रदर्शनीमा भरतपुर महानगरपालिका भित्रका १५ स्कुल सहभागी थिए ।
यस्तै आज नै अभिभावकहरु नि:शुल्क आँखा परीक्षण पनि सम्पन्न भएको छ । स्कुलको आयोजना तथा चितवन आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा परीक्षण गरिएको हो । जसमा दुई सय जना अभिभावकले आँखा परीक्षण गराएको संयोजक एवं स्कुलकी नर्स सुरुची कंडेलले जानकारी दिईन् । अस्पतालका आउटरिच कोअर्डिनेटर परशुराम रेग्मी र डा प्रभात यादवको टोलीले उनीहरुको आँखा परीक्षण गरेको हो ।
साताव्यापी कार्यक्रम अन्तर्गत बिहीबार र शुक्रबार मिनी पिबिएल मेला हुनेछ । जसमा विद्यार्थीहरुले प्रस्तुति दिनेछन् । २९ गते मेलाको मुख्य दिन रहेको छ । उक्त दिन विद्यार्थीहरुले आफूले तयार पारेका बस्तुहरु प्रदर्शनीमा राख्ने तथा बिक्री गर्नेछन् । सो दिन विद्यार्थीहरुले उत्पादन गरेका धुपबत्ती, साबुन, विभिन्न परिकारका खाजालगायत बिक्री गर्नेछन् । अभिभावकहरु स्वयं उपस्थित भएर आफ्ना बालबालिकाले उत्पादन गरेका बस्तुहरु हेर्न तथा खरिद गर्न सक्ने प्राचार्य कार्कीले बताईन् ।









