विराटनगर, २५ कात्तिक :
कोशी प्रदेशमा यस वर्ष लम्पी स्कीन रोगबाट एक हजार ११६ वटा चौपायाको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय सुनसरी धरानले जनाएको छ ।
कुनै पनि समयमा देखिने यो रोग यस वर्ष गर्मी र बर्सातको मौसममा देखिएको थियो ।
प्रदेशका तीन लाख ९४ हजार ५८५ चौपायामध्ये तीन लाख १५४ मा लम्पी स्कीनको रोग देखिएको निर्देशनालयका पशु चिकित्सक पुरुषोत्तम पाण्डेले जानकारी दिनुभयो । भाइरसबाट हुने यो रोगबाट बच्न निर्देशनालयले चौपायामा सुई लगाएको थियो र रोगलाई समयमै नियन्त्रणमा लिन सफल भएको थियो ।
खासगरी कोभिडको समयमा अष्ट्रेलियाबाट भित्रिएको यो रोग यस वर्ष कोशी प्रदेशको सोलुखुम्बु जिल्ला बाहेक सबै जिल्लाका चौपायामा देखिएको थियो भने पाँचथर र तेह्रथुम जिल्लामा यो रोगबाट कुनै पनि चौपायाको मृत्यु नभएको चिकित्सक पाण्डेले बताउनुभयो । गाईभैँसीमा लाग्ने यो रोग लागेपछि जीउमा गिर्खा जस्तो देखिने, ज्वरो आउने, घाउ हुने फुट्ने, तौल घट्ने, कमजोर हुनेजस्ता लक्षण देखिन्छ ।














