कार्तिक ९,चितवन ।
रत्ननगरस्थित पूर्व–पश्चिम राजमार्गको साबित्री पेट्रोल पम्पअगाडि सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको बा.प्र.२–०३–००१ च ०७७६ नम्बरको योद्धा गाडी अनियन्त्रित भई दुर्घटना हुँदा गाडी चालक हाल बतन नखुलेका वर्ष अन्दाजी २२ वर्षका सुरज दाहाल र सोही गाडीमा सवार बारा जिल्ला घर भएका वर्ष १४ का रविन क्षेत्री घाइते भएका वागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
आइतबार बिहान करिब पौने पाँच बजे भएको दुर्घटनामा घाइते भएका चालक सुरज दाहालको टाउकोमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। यात्रुको रुपमा सवार रविन क्षेत्रीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते दुवैजनालाई उपचारको लागि भरतपुरस्थित चितवन मेडिकल कलेज ल्याइएको छ।
परालको टेलरबाट लड्दा एकजना घाइते
ट्याक्टरको टेलरमा पराल लोड गरी डोरी मिलाउने क्रममा लडेर एक जना घाइते भएका छन्। शनिबार साँझ करिब ७ बजेको समयमा रत्ननगर नगरपालिका वडा नं.१२ स्थित जमुनापुरचोकबाट घोलचोकतर्फ जाँदै गरेको ना ३ त ५७७६ नम्बरको ट्याक्टरमा डोरी मिलाउने क्रममा लड्दा घोलचोकका स्थानीय वर्ष ५२ का गिरिराज केसी घाइते भएका वागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घाइतेको अहिले भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
















