चितवन, कार्तिक १ –
नेकपा (एमाले) चितवनले शान्तिपूर्ण सद्भाव र्याली तथा जागरण अभियान सम्पन्न गरेको छ ।
आज शनिबार पूर्वपश्चिम राजमार्गको सिक्स लेन स्थित गोन्द्राङबाट मोटरसाइकल र्याली सुरु भई, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, बाइपास रोडको विशाल चोक, मालपोत चोकमा आएर सम्पन्न भएको थियो । त्यसपछि मालपोत चोकबाट अस्पताल रोड हुँदै पैदल र्याली चौबिसकोठीसम्म आएर कोण सभामा परिणत भएको थियो ।
र्यालीका क्रममा जेनजीको आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही गर, हत्या हिंसाको छानबिन गर, आगजनी र तोडफोड गर्नेलाई कारबाही गर, सचेत युवाको जायज माग पूरा गर, वीर शहिदहरु अमर रहुन्, संविधानको रक्षा गर, शान्ति सुरक्षा कायम गर, राष्ट्रिय एकता कायम गर, सामाजिक सद्भाव कायम गरौं, नेकपा एमाले जिन्दावाद, जनताको बहुदलीय जनवाद जिन्दावाद लगायतका नारा लगाइएको थियो ।
चौबिस कोठीमा भएको कोण सभालाई एमाले चितवनका सचिव प्रकाश ढुंगानाले सञ्चालन गरेका थिए भने एमाले केन्द्रीय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज जेएन थपलिया र एमाले चितवनका अध्यक्ष कमल राज पाठकले संवोधन गरेका थिए ।
नेता थपलियाले कालापानी र लिपुलेक हाम्रो भूमि हो भनि केपी शर्मा ओलीले विदेशी मञ्चमा गएर पनि आवाज उठाउन थालेपछि षड्यन्त्र भएको बताए । जेनजीको आन्दोलनमा घुसपैठ तथा हाइज्याक गरी देशि विदेशी शक्तिहरुले देशमा अराजकता मच्चाएको उनको भनाइ छ । नेकपा एमालेलाई इतिहासमा पनि बेलाबेलामा आक्रमण हुने गरेको स्मरण गर्दै उनले यस्ता आक्रमणहरु बेलाबेलामा भए पनि पार्टी उठ्दै आएको बताए । यसपाली पनि त्यस्तै भएको बताउँदै नेता थपलियाले नेकपा एमाले पुनः जुरुक्क उठेर समृद्ध नेपाल सुखी नेपालीको अभियानमा लाग्ने बताए ।
नेकपा एमाले चितवनका अध्यक्ष कमल राज पाठकले एमाले चुनावबाट नभाग्ने बताएका छन् । तर यो सरकार चुनाव गर्ने पक्षमा नरहेको उनले तर्क गरे । उनले जेनजी आन्दोलनमा देश विरोधी देशि, विदेशी शक्तिहरुले घुसपैठ गरी अराजकता मच्चाएको बताए । ‘नेकपा एमाले सत्य छ, सही छ र जनताको पक्षमा छ, यो राष्ट्रको पक्षमा छ, सार्वभौम सत्ताको पक्षमा छ’ भन्दै अध्यक्ष पाठकले कोण सभालाई समापन गरे ।