भरतपुर,अशोज २३-
नारायणी नदीकिनारमा खेलकुद तथा बृहत् व्यापारिक महोत्सव हुने भएको छ । चितवन जिल्ला खेलकुद विकास समितिले आगामी कात्तिक १८ देखि मङ्सिर २ गतेसम्म महोत्सव गर्न लागेको हो । महोत्सवमा तीन लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
महोत्सव सम्पन्न गर्न करिब एक करोड ५० लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरिएको चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले बताए । महोत्सवको हरेक साँझ साढे ६ बजेपछि फुड फेस्टिबल र विशेष सांस्कृतिक कार्यक्रम गरिने उनले जानकारी दिए ।
महोत्सवमा बिच भलिबल, कराँते, तेक्वान्दो, कबड्डी, ब्याडमिन्टन, एथलेटिक्स, बुद्धिचाललगायतका खेलहरु आयोजना गरिने छ । त्यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मान एवम् प्रोत्साहन र हरेक दिन राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । महोत्सवको मुख्य आकर्षणमा दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, गोल्डेन गेट, म्युजियम अफ द क्रयचर र पेरिसको आइफिल टावरको प्रतिमालाई बिजुली बत्तीद्वारा सजावट गरी आकर्षक बनाइने उनले बताए ।
त्यस्तै, ३० देखि ४० वटा प्यागोडा स्टलहरु रहने छन् । महोत्सवको उद्घाटनअघि विभिन्न जातजातिको भेषभूषासहित ¥याली तथा झाँकीको प्रदर्शन हुने उनले जानकारी दिए । उत्कृष्ट झाँकीलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रूपैयाँ प्रदान गरिने आयोजकले बताएको छ ।