चितवन, २२ असोज –
सिएमसी क्यान्सर इन्स्टिच्यूटले एक महिनासम्म निःशुल्क रुपमा स्तन क्यान्सरको परीक्षण गर्ने भएको छ । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्थाका रुपमा सिएमसीकै परिसरमा सञ्चालित सिएमसी क्यान्सर इन्स्टिच्यूटमा परीक्षण हुने छ ।
अक्टोबर महिनाभर ओपिडीमा निशुल्क परीक्षण गरिने इन्स्टिच्यूटले जनाएको छ । विश्व स्तन क्यान्सर सचेतना महिना भएका कारण अक्टोबरमा निशुल्क परीक्षण गर्न लागिएको इन्स्टिच्यूटले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । स्तन (ब्रेष्ट) क्यान्सर सम्बन्धी जनचेतना जगाउने, समयमै पहिचान र उपचार गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरु गर्न लागिएको इन्स्च्यिूटले जनाएको छ ।
सिएमसीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रताप देवकोटाले अक्टोबर महिनामा स्तन क्यान्सरको परीक्षण गर्न आउनेहरुलाई बहिरंग (ओपिडी) टिकट निःशुल्क गरिएको बताए । उनले भने, ‘तालिमप्राप्त स्वास्थ्यकर्मीले स्तनमा गाँठागुँठी छन् छैनन् भन्ने बारेमा निःशुल्क रुपमा परीक्षण गर्नुहुनेछ । शंकास्पद देखिएका बिरामीलाई थप परीक्षण गरिने गरिने छ ।’
थप परीक्षण गर्नुपर्नेहरुका लागि स्तनको मेमोग्राम र स्तनको युएसजी (भिडियो एक्सरे) मा ५० प्रतिशत छुट समेत दिने उनले बताए ।
स्तन आफैले छामेर समेत गाँठागुँठी छ छैन पत्ता लगाउन सकिन्छ भन्दै सो अवसरमा मेडिकल अंकोलोजिष्ट डा. सुदिप थापाले स्तनमा गाँठागुँठी छन् भने एक पटक परीक्षण गरेर क्यान्सर हो होइन निश्चित गर्नु उपयुक्त हुने सुझाव दिए । ३० वर्ष माथिका महिलाहरुले प्रत्येक वर्ष कम्तीमा एक पटक स्तनको परीक्षण गराउने हो भने क्यान्सरको समयमा नै पहिचान र उपचार गर्न सकिने उनको भनाइ छ । उनले भने ‘क्यान्सर जति छिटो पहिचान गर्न सकियो उति छिटो निको हुने र निको हुने दर उच्च रहन्छ । साथै आर्थिक रुपमा पनि कम खर्चिलो हुन्छ ।’
क्यान्सरको उपचार शल्यक्रिया, केमो थेरापी र रेडियो थेरापी विधिबाट गरिने र यी तीन वटै सेवा सिएमसी क्यान्सर इन्स्टिच्यूटमा उपलब्ध रहेको अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुवास ठाकुरले बताए । क्यान्सर उपचारका लागि चाहिने अत्याधुनिक उपकरणहरु सिएमसी क्यान्सर इन्स्टिच्यूटमा रहेको उनले बताए ।
सिएमसी क्यान्सर इन्स्टिच्यूटमा क्यान्सर रोगको उपचारमा लामो अनुभव प्राप्त मेडिकल अंकोलोजिष्ट, सर्जन अंकोलोजिष्ट र रेडियोलोजिष्ट लगायतको जनशक्ति रहेको भन्दै सिईओ देवकोटाले स्वास्थ्य बीमा मार्फत समेत क्यान्सरको उपचार हुने जानकारी दिए । नेपाल सरकार र प्रदेश सरकारहरुले दिने विपन्न उपचार सेवाबाट पनि सिएमसी क्यान्सर इन्स्टिच्यूटमा क्यान्सरको उपचार हुने गर्दछ । सरकारी क्यान्सर अस्पतालको दररेटमा नै सिएमसी क्यान्सर इन्स्टिच्यूटमा उपचारको दररेट तोकिएकाले सरकारी अस्पतालमा उपचार गर्दा लाग्ने खर्चमा नै यहाँ सेवा पाउन सकिने देवकोटाले बताए । सेवाको गुणस्तरमा सिएमसी क्यान्सर इन्स्टिच्यूट कुनै पनि कमि नरहेको सिईओ देवकोटाको भनाइ छ ।