भरतपुर,असोज ४-
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिकै पहिरो जाँदा अवरुद्ध सडक अझै खुल्न सकेको छ । पहिरो खस्ने क्रम अझैसम्म पनि नरोकिएकाले पन्छाउने काम सुरु नभएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । शुक्रबार साँझ ७ः१५ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध छ । बिहान ६ बजेसम्म पनि ढुङगासहितको पहिरो खस्ने क्रम नरोकिएपछि पहिरो पन्छाउने काम सुरु हुन नसकेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार आज यो सडकखण्ड भएर यात्रा नगर्न अनुरोध गरिएको छ ।
ढुङगा झर्ने क्रम रोकिए तीन वटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम गरिने उहाँले बताउनुभयो । ‘राती झन् ठूलो पहिरो खसेको छ,उहाँले भन्नुभयो,ढुङ्गा झर्ने क्रम नरोकिएकाले काम सुरु गर्न सकिएको छैन । सवारीसाधनको जामका कारण काठमाडौं पोखरा चल्ने सवारीसाधन समेत बाटोमानै रोकिएका छन । प्रहरीले सवारी चालकलाई लेन कायम गरेर बस्न माइकिङ गरेको छ । यस्तै नारायणगढ मुग्लिन सडकमा रोकिएका सवारीसाधनलगायत यात्रुहरूलाई आफ्नो लेन कायम गरेर बस्न समेत अनुरोध गरिएको छ । गन्तव्यमा हिडेका सयौं सवारीसाधन र हजारौं यात्रु अहिले सडकमानै रोकिएका छन ।