भरतपुर,असोज १-
पहिरोका कारण अबरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सुचारु भएको छ । मंगलबार साँझ ८ः५० बजेदेखि अबरुद्ध सडक बिहान ९ बजेदेखि सुचारु भएको हो । इच्छाकामना गाउँपालिका ५ तुइनखोला स्थित सडकखण्डमा माथिबाट सुख्खा पहिरो खसेर सडक अबरुद्ध भएको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतिक सिंहका अनुसार सडकखण्डमा पहिरो पन्छाएर केही सवारीसाधन पार गराएपछि राती नै पुनः पहिरो खसेर सडक अबरुद्ध भएको हो । बिहानैदेखि दुईवटा एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाउने काम गरिएको उहाँले बताउनुभयो ।
यस्तै पृथ्वी राजमार्गको घोप्टे भिरमा पनि खसेको पहिरो पन्छाएर सडक दुइतर्फी संचालनमा ल्याइएको छ । नारायणगढ मुग्लिन सडकखण्डकै नाम्सी खोलामा पहिरो खसेको पहिरो पनि पन्छाएर सडक दुइतर्फी संचालन आएको छ । सडकमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ जान थालेका छन । सवारीसाधनको चाप रहेका कारण आफ्नो लेन प्रयोग गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ ।