चितवन, भदौ ३०–
राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, चितवनले हराएका तथा चोरी भएका जिन्सी सामान फेला पार्नेलाई फिर्ता गरिदिन आग्रह गरेको छ । सोमबार सार्वजनिक सूचना प्रकाशित गरी कार्यालयले भदौ २४ गतेको आन्दोलनको क्रममा कार्यालयमा आगलागी र तोडफोडका क्रममा सामान लिएर गएकोमा फिर्ता गरिदिन अनुरोध गरेको हो ।
घटनाका क्रममा कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, जिन्सी लगायतका विभिन्न सामाग्री तथा महत्वपूर्ण कागजातहरु लुटपाट तथा आगलागी भएको थियो । यी सामाग्रीहरु कसैले लिएर गएकोमा तत्काल फिर्ता गरिदिनको साथै लगेका व्यक्तिको सम्बन्धमा जानकारी, फोटो, भिडियोहरु भएमा प्रहरी कार्यालय तथा यस कार्यालयमा उपलब्ध गराइदिन कार्यालय प्रमुख महेश रेग्मीले अनुरोध गर्नुभएको छ । पछि लगेको थाहा भएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।