भरतपुर, २१ भदौ-
नेपाल सोतोकान कराते संघ चितवनले पूर्व प्रशिक्षक र खेल पत्रकारलाई सम्मान गरेको छ । संघले राष्ट्रिय खेलकुद परिषद्का पूर्व प्रशिक्षक जङ्गबहादुर थिङ र खेल पत्रकार सुशिल पन्तलाई सम्मान गरेको हो ।
संघको आयोजनामा आजदेखि सुरु चौथो राष्ट्रिय सोतोकान मास्टर मिट एवं दिक्षान्त समारोहको उद्घाटन शत्रमा थिङ र पन्त सम्मानित भएका हुन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्की, संघका अध्यक्ष शैलेश थापालगायतले सम्मान गरे ।
थिङ तेस्रो दक्षिण एसियाली करातेका स्वर्ण पदक विजेता पनि हुन् । यस्तै खेल पत्रकार पन्त चितवनको पहिलो रेडियो सिनर्जी एफएममा कार्यरत छन् भने खेलकुद पत्रकार मन्च चितवनका सदस्य पनि हुन् ।
भरतपुर कभर्डहलमा आजबाट सुरु भएको कार्यक्रम दुई दिन चल्नेछ । जसमा एक सय कराते खेलाडीहरु सहभागी छन् । उनीहरुको अभ्यास र परीक्षा पछि भोलि दिक्षित हुने संघका अध्यक्ष थापाले जानकारी दिए ।