चितवन, १९ भदौ :
सिमान्तकृत समुदायका रुपमा रहेको चेपाङ समुदायले न्वाँगी (छोनाम) पर्व सामूहिक रुपमा इच्छाकामना गाउँपालिकामा मनाउने भएका छन् । नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिको आयोजनामा इच्छाकामना गाउँपालिका–६ कालिखोलामा विभिन्न कार्यक्रम गरी मनाइने भएको हो ।
सङ्घले आज यहाँ पत्रकार सम्मेलन गरी यही भदौ २२ गते पर्ने न्वाँगी पर्व भव्यरुपमा मनाउने तयारी गरेको जनाएको हो । चितवनसहित चेपाङ समुदायको बसोबास रहेका जिल्लाहरु मकवानपुर, धादिङ, गोरखा, तनहुँ र लमजुङका चेपाङ समुदायको उपस्थितिमा विविध सांस्कृतिक कार्यक्रम गरिने भएको छ । सङ्घका अध्यक्ष गोविन्द चेपाङका अनुसार नयाँ अन्नबाली, फलफूल पाकेपछि विशेष पूजा गर्दै प्रकृतिलाई चढाएर खाने गरिन्छ । यो चेपाङ समुदायका लागि नयाँ वर्ष पनि हो ।
यो दिन चेपाङहरुले काँक्रो, अमिलो, पिँडालु÷गाभा, मकै, कागुनो, घैयाधानले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गर्दछन् ।
अध्यक्ष चेपाङले भन्नुभयो, “संस्कार, संस्कृति, भाषा लोपोन्मुख हुँदै छ । यसलाई संरक्षण गर्न हामीले सामूहिक रुपमा न्वाँगी पर्व मनाउने गरेका हौँ ।”
नेपालको सात जिल्लमा ८४ हजार ३६४ जना चेपाङको जनसङ्ख्या छ । जसमध्ये चितवनमा सबैभन्दा बढी ३५ हजार ६३७ जना छन् । मकवानपुरमा २३ हजार ६५०, धादिङमा १७ हजार १६०, गोरखामा चार हजार २६८ र बाँकी अन्य जिल्लामा छरिएर बसेका छन् ।