काठमाडौँ भदौ १२
काभ्रेको रोशी गाउँपालिकाको दुई ठाउँमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध भएको छ ।
रोशी गाउँपालिका वडा नम्बर–९ स्थित बिरुवा डाँडा र वडा नम्बर–११ स्थित पिपलबोटमा लेदो सहितको पहिरो आएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले बताए ।
घटनास्थलमा ट्राफिक प्रहरी र इलाका प्रहरी कार्यालय मंगलटारको टिम परिचालन गरिएको छ । जेसीबीको सहायताले राजमार्ग खुलाउने प्रयास भइरहेको एसपी सुवेदीले जानकारी दिए ।
दुईतर्फी बाटो अवरुद्ध भएको स्थान मंगलटारबाट २ सय मिटरेको दुरीमा पर्छ ।