काठमाडौं, भदौ ७-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीविरुद्ध कडा नीति लिएका छन् । ट्रम्प प्रशासनले ठूलो संख्यामा अवैध आप्रवासीहरूलाई देश निकाला गरेको छ । सीमामा पनि कडाइ गरेको छ ।
अब उनको कठोर नीतिको असर देखिन थालेको छ । हालै प्यू रिसर्च सेन्टरले गरेको एक अध्ययनअनुसार अमेरिकामा बस्ने आप्रवासीहरूको संख्यामा ठूलो गिरावट आएको छ । जनवरी २०२५ देखि जुन २०२५ सम्ममा आप्रवासीहरूको संख्यामा करिब १५ लाखले कमी आएको छ ।
अमेरिकामा आप्रवासीको संख्या ५ करोड १९ लाखमा झर्यो
प्यू रिसर्च सेन्टरका अनुसार यस वर्षको सुरुमा अमेरिकामा कुल आप्रवासीको संख्या पाँच करोड ३३ लाख थियो । यो घटेर अहिले करिब पाँच करोड १९ लाखमा झरेको छ । प्यू रिसर्च सेन्टरको यो प्रतिवेदन बिहीबार सार्वजनिक भएको हो ।
प्यू रिसर्च सेन्टरका वरिष्ठ जनसांख्यिक विद् जेफ्री पासेलले सञ्चारमाध्यमसँग भने, “हामीले हेरिरहेको तथ्यांकले एउटा नाटकीय परिवर्तन देखाउँछ ।”
आप्रवासीको संख्यामा आएको यो गिरावटले श्रम बजारमा पनि असर परिरहेको छ । प्यू रिसर्च सेन्टरका अनुसार, आप्रवासीहरूको संख्या घटेपछि सात लाख ५० हजारभन्दा बढी कामदार गुमाएको छ ।
प्रतिवेदनमा पासेलको भनाइ उदृत गर्दै भनिएको छ, “अमेरिकामा काम गर्ने उमेरका मानिसहरूको जनसंख्या बढिरहेको छैन । यसको अर्थ जनशक्ति बढाउने एक मात्र तरिका नयाँ आप्रवासीहरू आउनु हो । यदि, जनशक्ति बढेन भने अर्थतन्त्रका लागि समस्या उत्पन्न हुनेछ ।”
अवैध आप्रवासीको संख्यामा पनि कमी
पासेलले आप्रवासी जनसंख्यामा आएको यो ठूलो गिरावट अभूतपूर्व रहेको बताएका छन् । अमेरिकामा अवैध आप्रवासीहरूको संख्या पनि घट्न थालेको छ । सन् २०२३ मा यो संख्या एक करोड ४० लाख थियो ।
अमेरिकामा आप्रवासीहरूको संख्यामा गिरावट आए पनि विश्वमा सबैभन्दा धेरै आप्रवासी जनसंख्या अझै पनि अमेरिकामा नै छ । अमेरिकाको कुल जनसंख्यामा आप्रवासीहरूको प्रतिशत १५।८ थियो, जुन घटेर अहिले १५।४ प्रतिशतमा झरेको छ । सबैभन्दा धेरै आप्रवासी जनसंख्या टेक्सास र क्यालिफोर्नियामा बस्छन् । इन्डिया टुडे