काठमाडौँ, ३ भदौ:
जापानिज इन्सेफलाइटिस्बाट सन् २०२५ को हालसम्म ११ जनाको निधन भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले हालसम्म ६३ जनामा जापानिज इन्सेफलाइटिस् देखिएको र ११ जनाको मृत्यु भइसकेको बताउनुभयो ।
उहाँका अनुसार तेह्रथुम, बारा, मोरङ, झापा, नवलपराली पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक÷एक जना तथा चितवन तीन जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये आठ वर्षका एक जना, १७ वर्षका एक जना र ४० वर्षभन्दामाथिका नौ जना रहेका छन् ।
शाखा प्रमुख डा गौतमका अनुसार घरमा नै रहेका ३० प्रतिशत र अस्पताल जाँदाजाँदै २७ प्रतिशतमको मृत्यु भएको छ । सन् २०२४ मा जापानिज इन्सेफलाइटिस्बाट २५ जनाको निधन भएको थियो भने ८६ जनामा सङ्क्रमण भएको थियो ।
उहाँले जापानिज इन्सेफलाइटिस् खोप नलगाएकाहरूमा धेरै सङ्क्रमण देखिएको बताउनुभयो । “हालसम्म २४ जिल्लामा ५० वटा स्थानीय तहमा यसको देखिएको छ । २४ वटा स्थानीय तहलाई उच्च जोखिमको रूपमा लिइएको छ । यो रोग विशेषगरी साउनदेखि कात्तिकसम्म बढी देखिन्छ”, डा गौतमले भन्नुभयो ।
उहाँका अनुसार नेपालमा ८२ प्रतिशत बालबालिकालाई जापानिज इन्सेफलाइटिस्विरुद्धको खोप लगाई सकिएको छ ।