चितवन, ३ भदौ :
चीन सरकारले बोनम्यारो प्रत्यारोपण गर्न भवन र उपकरण दिने भएपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल जनशक्ति तयार गर्न थालेको छ । चिनियाँ विज्ञहरूको टोलीले अस्पतालको निरीक्षण गरेपछि यहाँका चिकित्सक, स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिन चीनसमेत पठाउने भएको छ ।
पाँच दिनअघि यहाँ आएको सात सदस्यीय चिनियाँविज्ञ टोलीले विभिन्न विभागमा कार्यरत चिकित्सक स्वास्थ्यकर्मीसँग प्रत्यक्ष रूपमा अन्तक्र्रिया गरी आवश्यक पूर्वाधारका विषयमा समेत राय लिएको छ ।
बोनम्यारो प्रत्यारोपणका लागि चिनियाँ टोली यही रहेका बेला नेपालका लागि चिनियाँ राजदूतावासका प्रथम काउन्सिलर वाङ सिन आज यहाँ आउनुभएको थियो । उहाँले चीन–नेपाल बोनम्यारो प्रत्यारोपण परियोजना औपचारिक रूपमा सुरू भएको बताउनुभयो ।
उहाँले यस परियोजनालाई दुवै मुलुकबीचको स्वास्थ्य सहकार्यको ऐतिहासिक कदमका रूपमा व्याख्या गर्नुभयो । सिनले चीन र नेपाल सात दशकदेखि असल छिमेकी, सत्यनिष्ठ मित्र र भरपर्दा साझेदारका रूपमा अगाडि बढ्दै आएको उल्लेख गर्दै हिमालझैँ अटल यो मित्रता स्वास्थ्य क्षेत्रमा अझ गहिरो रूपले प्रकट भइरहेको बताउनुभयो ।
सो अवसरमा अस्पताल सञ्चालक समितिका अध्यक्ष डा विजय न्यौपानेले यथासक्य छिटो काम सम्पन्न गर्न चिनियाँ सरकारले समेत चासो दिएको भन्दै सबैको साथ र सहयोगबाट बोनम्यारो प्रत्यारोपणको काम थालिने बताउनुभयो ।
अस्पतालका मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण साहले चीनबाट आएको विज्ञ टोलीले पाँच दिनसम्म स्थलगत अध्ययन गरेको र त्यसपछि जनशक्ति तालिमलाई प्राथमिकता दिनु आवश्यक देखिएको बताउनुभयो ।
डा साहका अनुसार, बोनम्यारो प्रत्यारोपण सेवा केवल एक विभागले मात्र सम्भव नहुने भएकाले मेडिकल अङ्कोलोजी, हेमाटोलोजी, आइसियु, रेडिएसन अङ्कोलोजी र प्याथोलोजीजस्ता विभागको संयुक्त क्षमता आवश्यक हुन्छ । “डाक्टर मात्र सक्षम भएर पुग्दैन, नर्स, प्यारामेडिक्स र अन्य प्राविधिक पनि दक्ष हुनुपर्छ”, डा साहले भन्नुभयो ।