चितवन, भदौ २ –
नेकपा (एमाले) जिल्ला कमिटी चितवनको नवौं पूर्ण बैठक सम्पन्न भएको छ । भाद्र २०–२२ गते ललितपुरको गोदावरी हलमा एमालेको विधान अधिवेशन हुँदैछ । उक्त विधान अधिवेशनमा विधानमा समावेश गर्नुपर्ने र संशोधन गर्नुपर्ने विषयमा जिल्लाले दिने सुझावका सम्बन्धमा केन्द्रीत रही बैठक बसेको हो ।
जिल्लाले पठाएका सल्लाह र सुझावहरुका बारेमा विधान अधिवेशनमा व्यापक छलफल हुने एमालेले जनाएको छ ।
विधान अधिवेशन केन्द्रित रही आजको जिल्ला कमिटी बैठकमा व्यापक छलफल भएको छ । एमाले चितवनका प्रचार विभाग प्रमुख प्रकाश आचार्यका अनुसार बैठकमा जिल्ला कमिटीका नेताहरुले विधान संशोधनका सम्बन्धमा विभिन्न सुझाव पेस गरेका छन् । राष्ट्रको सम्मानित व्यक्तिलाई संविधानले नै पार्टी राजनीति गर्न नपाउने प्रष्ट व्यवस्था गर्नुपर्ने र दोश्रो तहका नेताले नेतृत्व लिने गरी अगाडि बढ्नु पर्ने र त्यसो गर्दा कोही पनि विवादित बन्नु नपर्ने कुरा बैठकमा उठेको आचार्यले जानकारी दिए ।
त्यसैगरी जिल्ला कमिटी पदाधिकारीमा १ जना ४० वर्ष मुनिका युवा अनिवार्य गराउनुपर्ने, भ्रष्टाचारमा मुछिएर विवादमा आएका नेता कार्यकर्ताको सदस्यता खारेज गर्ने व्यवस्था गर्नुपर्ने, जिल्ला जिल्लामा सम्पर्क मञ्च गठन गर्ने र त्यसको मान्यता दिनुपर्ने व्यवस्था गर्ने, क्षेत्र र प्रदेश समन्वय कमिटीलाई कार्यकारी अधिकार दिने व्यवस्था गर्नुपर्ने, समाजवादी मोडलमा जाने स्पष्ट योजना लगायतका कुरा विधानमा राख्नुपर्ने जिल्ला कमिटी चितवनका नेताहरुले सुझाव दिएका छन् ।
विधानमा संसोधन गरी १ पार्टी सदस्य र अर्काे पार्टी संगठित सदस्य बन्न पाउने व्यवस्था गर्नुपर्ने, पार्टी जिल्लाले व्यवस्था गरेको कार्यालय सचिव निर्वाचित भएर आउने व्यवस्था गनुपर्ने, पार्टी जिल्ला पदाधिकारीले विभिन्न विभागको जिम्मा नलिने र त्यसको जिम्मा सचिवालय सदस्यलाई दिने व्यवस्था गर्नुपर्ने, युवा र विद्यार्थीमा उमेरको हद राखिसकेपछि पार्टीमा पनि उमेर हद राख्दा राम्रो हुने लगायतका सुझाव जिल्ला कमिटीका नेताहरुले दिएका छन् ।
बैठकलाई संवोधन गर्दै पार्टी स्थायी कमिटी सदस्य एवम् संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले विधान अधिवेशनमा चितवनले प्रश्न उठाउने र झकझकाउनुपर्ने बताए । यदि चितवनले यसो गरेन भने पार्टी र विधान कमजोर बन्न सक्ने भन्दै नेता अधिकारीले विधान अधिवेशनका लागि व्यापक छलफल गरी सुझाव पेश गर्न आग्रह गरे ।
समृद्द नेपाल सुखी नेपाली राष्ट्रिय आकांक्षा मात्र होइन गन्तव्य पनि भएको बताउँदै नेता अधिकारीले यो विषयमा विधान महाधिवेशनमा छलफल हुने बताए ।
स्थायी कमिटी सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी देशको प्रमुख पदमा बसेको हुँदा राजनीतिमा आउनु राम्रो हुँदैन भनेर निर्णय भएको बताए । तर विधान अधिवेशनले उल्ट्याउन पनि सक्ने अधिकार रहेको हुँदा उक्त अधिवेशनसम्म कुर्नुपर्ने धारणा राखे ।
एमाले चितवनका अध्यक्ष कमल राज पाठकको अध्यक्षतामा सम्पन्न बैठकमा काशीनाथ अधिकारी र डा. राजन भट्टराईसहित एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, केन्द्रीय सदस्यहरु जेएन थपलिया, प्रभा बराल, कृष्णभक्त पोखरेल, यम बहादुर परियार, कपिल पोखरेल, केन्द्रीय सल्लाहकार हरि सापकोटा, डा. तिलचन्द्र भट्टराई, भूमि विभागका केन्द्रीय सचिव विजय सुवेदी, एमाले बागमती प्रदेशका उपाध्यक्ष दावादोर्जे लामा, प्रदेश कमिटी सदस्य एवम् एमाले चितवनका निवर्तमान अध्यक्ष राम प्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।