चितवन, अजार ३ –
मेघालीमा मान्छे खाने नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ ।
भरतपुर महानगरपालिका–२७ मेघौलीस्थित राधाकृष्ण सामुदायिक वनबाट दस वर्षको बयस्क भाले नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको हो । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले साँझ साढे ६ बजे डार्ट गरी नियन्त्रणमा लिइएको सो बाघलाई कसरा लगिने बताए ।
बाघ नियन्त्रणको लागि चितवन राष्ट्रिय निकुञ्जको टोली, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु चिकित्सक तथा कर्मचारी हात्ती चढेर गएका थिए । झन्डै तीन घन्टाको प्रयासमा बाघ नियन्त्रणमा आएको हो ।
उक्त बाघले हिजो बिहान निउरो टिप्न गएकी मेघौलीकी २३ वर्षीया रेखा बस्नेतलाई खाएको थियो ।